सङ्खुवासभामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

58

खाँदबारी, ४ मंसिर । सङ्खुवासभामा आज भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

१०८ वटा मतदानस्थल र १६२ मतदान केन्द्र रहेको सङ्खुवासभामा १ लाख १७ हजार ५५४ मतदाता रहेकोमा करिब ५८ प्रतिशतले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाको भनाइ छ ।

सामान्य विवादबाहेक सङ्खुवासभाका सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले जानकारी दिए ।

जिल्लाका केही स्थापनमा छिटफुट विवाद भइ केहीबेर मतदान स्थगित गरिए पनि सहमति पश्चात पुनः मतदान सम्पन्न गरिएको थियो ।

अहिले जिल्लाका विभिन्न क्षेत्रबाट मतपेटिका सदरमुकाम खाँदबारी ल्याउने कार्यका लागि मुचुल्का उठाउने तयारी भइरहेको जनाइएको छ ।

भोटखोला, मकालु र सिलिचोङका केही क्षेत्रबाट मतपेटिका ल्याउन केही समय लाग्न सक्ने जनाइएको छ ।

जिल्लाका अधिकांश क्षेत्रबाट आजै मतपेटिका सदरमुकाम खाँदबारी ल्याइपुर्‍याइने र मतपेटिका संकलनको कार्य सकिनेबित्तिकै सर्वदलीय बैठक बसी मतगणनाको कार्य सुरु गरिने जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाले जनाएको छ ।

मकालु गाउँपालिका र भोटखोला गाउँपालिकाका केही क्षेत्र अत्यन्तै दुर्गम भएकाले भोलि बिहान हेलिकोप्टरमार्फत् मतपेटिका ल्याउने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाका मुख्य निर्वाचन अधिकृत गौतमको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...