सङ्खुवासभामा खड्का र गौतमबीच तेस्रोपटक भिडन्त, कसले मार्लान् बाजी ?

74

खाँदबारी, २६ कात्तिक । आगामि मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सङ्खुवासभा जिल्ला सभापति तथा पूर्वराज्यमन्त्री दीपक खड्का र जिल्ला इञ्चार्जसमेत रहेका नेकपा (एमाले) राजेन्द्रप्रसाद गौतमबीच तेस्रोपटक चुनावी प्रतिस्पर्धा हुँदै छ । यसअघि भएको दुई वटा निर्वाचनमा दुवैजनाले एक–एक पटक बाजी मारेका छन् ।

२०७४ को निर्वाचनमा पनि यी दुईजना नै चुनावी मैदानमा थिए । त्यतिबेला गौतमले बाजी मारे । उनले ३२ हजार ७६९ मत ल्याएर विजयी भएका थिए भने खड्काले ३२ हजार ६३९ मत प्राप्त गरेका थिए । दुई नेताबीचको मतान्तर १ हजार १३० थियो ।

त्यतिबेला एमालेका गौतमलाई नेकपा (माओवादी केन्द्र)का साथ थियो । एमाले र माओवादीले वाम गठबन्धन बनाएका थिए ।

तर, यसपटक भने चुनावी कोर्स फेरिएको छ । माओवादी केन्द्रसहित कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बीच तालमेल भएको छ । जसलाई वाम–लोकतान्त्रिक गठबन्धन भनिएको छ ।

तालमेल भएकाले चुनाव जित्नेमा ढुक्क छन्, खड्का । तर, अघिल्लोपटक गरेको कामलाई मूल्यांकन जनताले गरिसकेको कारण आफ्नो जित सुनिश्चित भएको गौतमको दाबी छ ।

सङ्खुवासभा जिल्लामा ५ नगरपालिका र पाँच गाउँपालिका गरी १० स्थानीय तह छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले ६ र एमाले ४ स्थानीय तहमा विजयी भएका थिए ।

१ लाख १७ हजार ५५४ जना मतदाता रहेको सङ्खुवासभामा ५६ हजार ६९० महिला र ६० हजार ८६४ पुरूष मतदाता छन् ।

२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा खड्का र गौतमबीच तत्कालीन सङ्खुवासभा क्षेत्र नम्बर २ मा चुनावी प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनमा खड्काले बाजी मारेका थिए । खड्काले गौतमलाई ५७९ मतान्तरले पराजित गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...