सन्दीप लामिछानेविरूद्ध आज तेस्रोपटक म्याद थप्ने तयारी

40

काठमाडौँ, २ कात्तिक । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । त्यसका लागि उनलाई आज बुधबार जिल्ला अदालत काठमाडौँ लैजाने तयारी गरिएको छ ।

२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि क्याप्टेनबाट निलम्बनमा परेका थिए भने प्रहरीले पक्राउ गरेको थियो ।

उनी दसैँको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा ती किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।

जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो । यस्तै, उनी पुगेको काठमाडौँको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ । त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...