देउवालाई जसपाको काउन्टर : मधेस सरकारबाट कांग्रेसका तीन मन्त्री बर्खास्त

122

काठमाडौँ, २८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्री बर्खास्त गरेको भोलिपल्ट मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मन्त्रिपरिषद्का कांग्रेसका तीन मन्त्री बर्खास्त गरेका छन् ।

मधेस प्रदेश सरकारमा कांग्रेसका तीन मन्त्री थिए । भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, महिला, बालबालिका तथा खेलकुद विकासमन्त्री विरेन्द्रप्रसाद सिंह र खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मालाई शुक्रबार मुख्यमन्त्री राउतले बर्खास्त गरेका हुन् ।

उनीहरूलाई बिहीबार साँझ नै मुख्यमन्त्री राउतले फोन गरेर राजीनामा दिन निर्देशन दिएका थिए । तर, उनीहरूले नमानेपछि आज बर्खास्त गरिएको हो । अब ती तिनै मन्त्रालय मुख्यमन्त्री राउतले सम्हाल्ने छन् ।

सत्ता गठबन्धनमा रहेर प्रमुख विपक्षी दल नेकपा (एमाले)सँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीलाई बिहीबार हटाएका थिए । त्यसैको ‘काउन्टर’ स्वरूप जसपाले मधेस प्रदेश सरकारमा कांग्रेसबाट मन्त्री बनेका तीन नेतालाई बर्खास्त गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...