ओलीले १२ बजे उम्मेदवारी दर्ता गर्ने

64

झापा, २३ असोज । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १२ बजे झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गर्दै छन् । आफ्नो उम्मेदवारी दर्ताका लागि अध्यक्ष ओली शनिबार नै झापा पुगिसकेका छन् ।

अध्यक्ष ओलीको उम्मेदवारी दर्ताका लागि प्रस्तावक र समर्थकहरू समेत तोकिएको छ । झापा क्षेत्र नम्बर ५ को निर्वाचन परिचालन कमिटीका संयोजक एवम् पोलिटब्युरो सदस्य देवेन्द्र दाहालका अनुसार संघीय संसद्का लागि अध्यक्ष ओलीको उम्मेदवार प्रतिनिधि केन्द्रीय सदस्य रोमनाथ ओलीलाई तोकिएको छ ।

यसैगरी प्रस्तावकहरूमा केन्द्रीय सदस्य ओली र प्रदेश सदस्य अम्बिका खनाललाई तोकिएको छ । यस्तै, समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दीपक कार्कीलाई तोकिएको छ ।

उम्मेदवारका प्रस्तावक र समर्थकले नागरिकता, निर्वाचन आयोगले प्रमाणित गरेको मतदाता नामावली पेस गर्नुपर्ने छ ।

अध्यक्ष ओलीको उम्मेदवारी दर्ता दमक नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा दिउँसो साढे १२ बजे हुने एमालेले जनाएको छ । उम्मेदवारी दर्ताका लागि नागरिकता, आयोगले प्रमाणित गरेको मतदाता नामावली र सम्पत्ति विवरण भरेको फारम आवश्यक पर्दछ ।

Share This:
सम्बन्धित खबर
Loading...