भाइमाथि कुटपिट भएको बदला लिन हत्या, ९ जना पक्राउ

115

इलाम, ७ असोज । झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ वर्षीय एलबी भन्ने लालबहादुर गुरूङको हत्या गरेको आरोपमा ९ जना प्रकाउ परेका छन् । पक्राउ परेकाहरूलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा चुलाचुली–४ इलामका २५ वर्षीय शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ वर्षीय झ्याम्ले भन्ने नरेशकुमार याखा, २१ वर्षीय अभिषेक केरुङ, २० वर्षीय सेसे भन्ने सेसेयाङ याख्खा, ३३ वर्षीय सन्तु भन्ने चन्द्रकुमार यवा, ३५ वर्षीय डम्बर यवा, ३० वर्षीय टीका भन्ने नरेन्द्र तुम्रोक, २६ वर्षीय विक्रम हिङमाङ र २९ वर्षीय पर्शु राई रहेका छन् ।

प्रहरीले घटनामा प्रयोग भएको दापसहितको खुकुरी, मृतकलाई हिर्काउन प्रयोग गरेको ढुंगा तथा मृतकले प्रयोग गरेको को१९प ३७२५ नम्बरको मोटरसाइकलको दुवै चक्काको टायर काटी फालेको अवस्थामा फेला परी बरामद गरेको छ ।

बुधबार बेलुका ५ बजे १०–१२ जना अपरिचित व्यक्तिहरुले बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर बस्ने गुरुङलाई दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुंगे पुल नजिक धारिलो हतियार खुकुरी, ढुंगा प्रहार गरी शरिरको विभिन्न भागमा काटी गम्भीर घाइते बनाई फरार भएका थिए । घाइते गुरुङको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको घटना सम्बन्धमा तत्काल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरिक्षक दिलिप घिमिरेको कमाण्डमा परिचालन भएको प्रहरी टोलीले घटनामा संलग्न व्यक्तिको खोज तलास गर्ने क्रममा विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घटना भएको ३ दिन अगाडि मृतक गुरुङले घटनामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफ्नै भाइ सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घटनाको बदला लिन उनीहरूले कुटपिट गरी मार्नेसम्मको योजना बनाएको प्रहरीले जनाएको छ ।

सो घटनामा संलग्न अन्य केही व्यक्तिहरू पनि संलग्न भएको र उनीहरूको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...