जबरजस्ती करणी मुद्दामा पल शाहलाई सफाइ, बाल यौन दुरूपयोगमा साढे २ वर्ष कैद

204

काठमाडौँ, २२ भदौ । नाबालिग गायिका बलात्कार गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहले सफाइ पाएका छन् । जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत नवलपुरले मंगलबार सफाइ दिएको हो ।

तर, बाल यौन दुरूपयोगको मुद्दामा भने उनी दोषी ठहर भएका छन् । उनलाई बाल यौन दुरूपयोगको मुद्दामा २ वर्ष ६ महिना कैदको फैसला भएको छ ।

जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार सुनुवाइपछि २५ हजार रूपैयाँ जरिबानाको फैसला पनि गरेको छ । यस्तै, पीडितलाई १० लाख रूपैयाँ क्षतिपूर्ति भराउने पनि फैसला भएको छ ।

यसैगरी, अभिभावक र मिडियालाई समेत यो मुद्दामा सचेत गराउने फैसला भएको छ ।

यसअघि, बकपत्रका क्रममा पीडित र जाहेरवालाले नै फैसला बयान फेरेर घटना झुटो भएको बताएपछि उनले सफाइ पाएका हुन् । फैसलाको पूर्णपाठ भने आइसकेको छैन । शाह ७ महिनादेखि कारागार कार्यालय तनहुँमा पुर्पक्षका लागि थुनामा थिए । यो अवधि कैदमा जोडिने छ ।

नवलपुर अदालतमा फैसला भए पनि यस्तै मुद्दा जिल्ला अदालत तनहुँमा पनि दर्ता भएको छ । त्यहाँबाट पनि यसअघि पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको थियो । नवलपुर अदालतले सफाइ दिएको भए पनि मंगलबार नै उनी थुनामुक्त भने हुने थिएनन् ।

तनहुँ अदालतको फैसलापछि मात्रै उनी कति थुनामा बस्नुपर्छ भन्ने टुंगो लाग्ने छ । तनहुँ अदालतबाट योभन्दा बढी कैद सजाय भएमा सोही अनुसार उनी फैसलामा बस्नुपर्छ । तर, तनहुँले योभन्दा कम अथवा कैद सजाय नगर्ने फैसला गरे पनि नवलपुर अदालतले तोकेजति कैद भुक्तान गरेर मात्रै उनी छुट्ने छन् ।

नवलपुर अदालतमा शाहको तर्फबाट ६ जना निजी कानुन व्यवसायीले बहस गरेका थिए । सरकारी वकिल कार्यालयको तर्फबाट तीन जनाले बहस गरे । मुद्दाको अन्तिम सुनुवाइमा जाहेरवालाका भने वकिल बहसमा सहभागी भएनन् । यसअघि पुर्पक्ष बहसमा पीडित पक्षका वकिलले पनि बहस गरेका थिए ।

फागुन ११ गते उनीविरूद्ध सुरूमा जिल्ला अदालत तनहुँमा जाहेरी परेको थियो । त्यसको ४ दिनपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहले आत्मसमर्पण गरेका थिए । पछि नवलपुर जिल्लामा पनि जाहेरी परेको हो । पछि जाहेरी परे पनि नवलपुर अदालतले भने पहिले फैसला गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...