ललितपुरमा ट्राफिक प्रहरीको कुटाइबाट बाटो हिँडिरहेका डाक्टरको नाक भाँचियो

101

काठमाडौँ, १४ असार । ललितपुर ट्राफिक प्रहरीले एकजना डाक्टरमाथि कुटपिट गरेका छन् । पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक जवान राजेन्द्र थावाले कुटपिट गरेका हुन् ।

कुसुन्तीमा घिसिङ आइतबार राति पौने ९ बजे ड्युटी सकेर एक्लै पैदल घर फर्किरहेका थिए । ट्राफिकले किन ठोक्किँदै हिँडिरहेको भनेपछि विवाद हुँदा ट्राफिकले बढीबढी कुरा गर्ने भन्दै मुखमा हिर्काएको घिसिङले बताए ।

ट्राफिकले हिर्काएपछि उनको नाकबाट रगत बगेको उनले बताए । कुटपिट भएपछि नजिकै रहेको अर्का ट्राफिक प्रहरीले घिसिङको उपचारका लागि जावलाखेलस्थित अल्का अस्पताल लगेका थिए । चिकित्सकका अनुसार उनको नाक फ्याक्चर भएको छ । घिसिङको अहिले उपचार भइरहेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुर प्रहरी उपरीक्षक सिद्दीविक्रम शाहले कुटपिट गर्ने ट्राफिक प्रहरीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको बताए । उनका अनुसार डाक्टर घिसिङको उपचार गर्ने भनिए पनि जाहेरी भने परेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...