गायिका सुनार मृत्यु प्रकरण : प्रेमीलाई पाँच दिन हिरासतमा राख्न अनुमति

96

काठमाडौँ, १३ असार । लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा पक्राउ परेका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

जिल्ला अदालत काठमाडौँले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भइ काठमाडौँको गोठाटार बस्ने ३८ को सूर्य भन्ने खिलबहादुरलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

गत शनिबार बिहान ११ बजे तार्केश्वर नगरपालिका–११ नेपालटारस्थित एक घरको डेरामा सुर्खेत गुर्भाकोट नगरपालिका–२ घर भएकी ३३ वर्षकी गायिका दिलमाया मृत फेला परेकी थिइन् । दिलमायाको शव फेला पर्नुअघि शनिबार बिहान १ः२० बजे उनको फेसबुकबाट सुसाइड नोट पोष्ट भएको थियो ।

सुसाइड नोट नै भएका कारण आत्महत्याको शंका गरिएको भए पनि शव ओछ्यानमा र घाँटीमा निलडाम फेला परेको देखिएको थियो । घटनास्थलको अवस्थाले त्यस दिन दुई जना सँगै बसेको पाइएपछि प्रहरीले विभिन्न पाटोबारे अध्ययन गरेको थियो । त्यसक्रममा सुनारसँग लिभिङ टुगेरदरमा बस्ने प्रेमी भनिएका सूर्य पनि त्यहाँबाट भागेको खुल्यो । सुरूमा उनले आफू घटना हुनुअघि नै त्यहाँबाट हिँडेको बताएका थिए । तर, सिसिटिभी फुटेज हेर्दा भने उनी घटना भएको समयमा त्यही भएको देखिएको थियो । त्यसपछि उनले त्यहाँबाट लगेको सल महाराजगञ्जमा फालेको भनेको आधारमा प्रहरीले उक्त सल फेला पारेको थियो ।

तर, प्रहरीले दिलमायाको मोबाइल फोन भने फेला पारेको छैन । सूर्यविरूद्ध मृतकका बुवा खिलबहादुर श्रेष्ठले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएपछि म्याद थप गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...