काठमाडौँ, ३० वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको परिणाम एमालेको पक्षमा आउने विश्वास व्यक्त गरेका छन् ।
शुक्रबार भक्तपुरको बालकोटमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले स्थानीय निर्वाचनमा गठबन्धनभन्दा एमालेले धेरै स्थानमा जित्ने दाबी गरे । ओलीले अब एमाले एक्लै एउटा र अरु मिलिजुली अर्को दल बन्ने बताए ।
वडासम्म पनि एक्लै लड्ने हिम्मत कांग्रेसमा नरहेको उनले बताए । त्यस्तै, ओलीले ९ वैशाखसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्न प्रस्ताव गरेको र आफूले अस्वीकार गरेको जिकिर गरे ।
उनले निर्वाचन हार्ने गठबन्धनका तर्फबाट आक्रमण गर्ने काम भइरहेको आरोप लगाए ।