कोहलपुर, २७ वैशाख । साझा गठबन्धनका तर्फबाट कोहलपुर नगरपालिकाका साझा उम्मेदवार नरेन्द्र न्यौपानेले आफ्नो जित सुनिश्चित भइसकेको बताएका छन् ।
कोहलपुर नगरपालिका वडा नम्बर ३ मा आयोजित चुनावी सभालाई सम्बोधन गदै उनले विगतमा अन्य दलमा मतदान गरेका कोहलपुरबासीले पनि यस पटक आफूहरुलाई मत दिएर विजयी गराउने प्रतिबद्धता जनाएकाले आफ्नो जित सुनिश्चत भएको बताए ।
सोही आधारमा आफू कोहलपुरबासीको साझा उम्मेदवार भएको भन्दै सोही अनुरुप समुन्नत कोहलपुर निर्माणका लागि लागिपर्ने धारणा राखे । कोहलपुरका अधिकांश वडाहरुमा यस पटक गठबन्धनका उम्मेदवार विजयी हुने उनले बताए । आफू नेतृत्वको टिमले ५ वर्षमा कोहलपुरलाई देशकै नमुना नगरपालिका बनाउने बताए।
मेयर पदका उम्मेदवार न्यौपानेले आफूले यस पटक कोहलपुबासीको अपार माया पाएको भन्दै सो मायालाई मतमा व्यक्त गर्न अब ४ दिन बाँकी रहेको बताउँदै न्यौपानेले आफू बाँचुल्जेल कोहलपुरको विकासमा क्रियाशील भएर लाग्ने प्रतिबद्धतासमेत जनाए ।