नाबालिग गायिका बलात्कार प्रकरण : पल शाहलाई थुनामा राख्न आदेश

182

तनहुँ । नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न नवलपुर जिल्ला अदालतले आदेश दिएको छ ।

नवलपुर जिल्ला अदालतमा शाहसँग मंगलबार र बुधबार लिएको थुनछेक बहसपछि उक्त अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

न्यायाधीश अर्जुन अधिकारीको इजलासले मुद्दाको किनारा लगाउने समयसम्मका लागि थुनामै राख्न आदेश दिएपछि कलाकार शाहलाई पुनः बुधबार राति कारागार ल्याइ राखिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

कावासोतीस्थित नवलपुर जिल्ला अदालतले तनहुँ कारागारमा नै थुनामा राख्न आदेश भएकाले बुधबार राति १२ः३० बजे तनहुँ कारागारमा राखिएको उनले बताए । शाहलाई तनहुँका अतिरिक्त पूर्वी नवलपरासीमा पनि बालिकामाथि यौन शोषण गरेको आरोप उजुरी परेपछि नवलपरासीमा हाजिर गराइएको थियो ।

एक वर्षअघि नवलपुरको गैँडाकोटमा सुटिङको क्रममा मादक पदार्थ खुवाएर बलात्कार गरेको भन्दै व्यास नगरपालिका–१० की एक किशोरीले इलाका प्रहरी कार्यालय गैँडाकोटमा पनि किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि चैत ३ गते जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको थियो ।

शाहका वकिलले तनहुँ जिल्ला अदालतको पुर्पक्षका लागि तनहुँ कारागारमा राख्न भनेको आदेशविरुद्ध चैत १५ गते निवेदन दिएका थिए । निवेदनमा पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग राखिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...