राहदानी विभागको छाप किर्ते गरेको अभियोगमा १२ जना पक्राउ

176

काठमाडौँ । राहदानी विभागको छाप किर्ते गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

राहदानी विभाग त्रिपुरेश्वरमा राहदानी बनाउन लाइन बसेका सेवाग्राहीलाई छिटो काम गरिदिने भन्दै रकम लिइरहेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको टोलीले १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका–१ घर भइ हाल गोंगबु, मिलन टोल बस्ने २९ वर्षीय अमृत थापा, माडी–४ घर भइ सोही स्थान बस्ने प्रज्वल खड्का, बागलुङको बागलुङ नगरपालिका–८ घर भइ हाल सामाखुसी बस्ने ३० वर्षीय रञ्जित कार्की, म्याग्दीको बेनी नगरपालिका–५ घर भइ मनमैजु, बालाजु बस्ने ३३ वर्षीय रामजी परियार, पाल्पाको पूर्वखोला गाउँपालिका–५ घर भइ गोंगबु मिलन टोल बस्ने ३३ वर्षीय जीवनकुमार श्रेष्ठ रहेका छन् ।

यसैगरी, रामेछाप गागल गाउँपालिका–८ घर भइ गौशाला बस्ने ३७ वर्षीय मिठे मगर, ललितपुर महाकाल–३ स्थायी घर भइ गोंगबु, नयाँ बसपार्क बस्ने ३६ वर्षीया गोमा बजगाई, महाकाल गाउँपालिका–२ घर भइ मानिखेल बस्ने रमेश बजगाई, काभ्रेपलाञ्चोक कटुन्जेबेसी गाउँपालिका–४ स्थायी घर भइ माछापोखरी बस्ने २५ वर्षीय सन्दीप मैनाली पनि पक्राउ परेका छन् ।

यस्तै, सिन्धुली दुधौली नगरपालिका–३ घर भइ हाल धुम्बाराही बस्ने २१ वर्षीष अभिषेक मगर, दैलेख आठबीस नगरपालिका–३ घर भइ हाल सिनामंगल बस्ने २२ वर्षीय निरञ्जन तिवारी र धादिङ थाक्रे गाउँपालिका–४ घर भइ हाल कलंकी बस्ने २४ वर्षीय मदन तामाङ रहेका छन् ।

उनीहरुले प्रहरी चारित्रिक प्रमाणपत्र, कोरोनाविरुद्धको खोप लगाएको कार्ड र विद्युतीय राहदानी फारममा नक्कली सरकारी छाप बनाएर किर्ते गरेको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद– २५ अन्तर्गत दफा २७६ को उपदफा १ ‘किर्ते गर्न नहुने कसुर’बमोजिम महानगरीय प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...