निर्वाचनका लागि मानसिक र शारीरिक रुपले तयार रहन महानिरीक्षक खनालको निर्देशन

264

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आसन्न स्थानीय निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन मानसिक र शारीरिक रुपमा तयार रहन मातहत कर्मचारीलाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण हेडक्वाटर, श्रीअन्तु इलामको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै महानिरीक्षक खनालले निर्वाचनको समयमा विभिन्न किसिमका सुरक्षा चुनौति आउन सक्ने भएकाले विगतमा सफलतापूर्वक सम्पन्न गराएका निर्वाचनको अनुभवका आधारमा परिचालित भइ उत्कृष्ट ढंगले जिम्मेवारी पूरा गर्न समेत निर्देशन दिए ।

सोही दिन उनले नम्बर ३८ रिजर्भ गण हेडक्वाटर, लखनपुर झापाको समेत उद्घाटन गर्दै फौजको गहना भनेको अनुशासन भएकाले अनुशासनमा नै फौजको व्यावसायिकता झल्कने हुँदा सबैलाई आफ्नो अन्तस्करणदेखि संगठन र राष्ट्रप्रति इमान्दार, बफादार, नैतिकवान, अनुशासित र उच्च समर्पणभावका साथ आफ्नो जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न निर्देशन दिए ।

कोभिड–१९ नियन्त्रण र रोकथाममा संगठनले हासिल गरेको सफलता फिल्डमा तैनाथ राष्ट्रसेवक कर्मचारीहरुको त्याग र मेहनतको परिणाम भएको बताउँदै महानिरीक्षक खनालले आगामी दिनमा समेत अविचलित रही राष्ट्र सेवामा समर्पित हुन निर्देशन दिए ।

संगठनका सकलदर्जाले देखाएको इमान्दारीता, अनुशासन, बफादारी, कर्तव्यपरायणता तथा व्यावसायिकता, उच्च समर्पणभाव र परिश्रमको नतिजाकै कारण संगठन आज यो स्थानमा आएको स्मरण गर्दै उनले सशस्त्र प्रहरी बल, नेपाल सीमा क्षेत्रमा तैनाथ भए पश्चात राजश्व संकलनमा वृद्धि, चोरी तस्करी तथा सीमा अपराध नियन्त्रण भएको र समग्रमा सीमा क्षेत्रका जनताले सुरक्षित महसुस गरेको बताए ।

राष्ट्रनसेवक कर्मचारीहरु ताप्लेजुङ्गको ओलाङ्गचुङ्गगोलादेखि हुम्लाको हिल्सासम्म र पाँचथरको तोरीफुले देखि दार्चुलाको छाङ्गरुसम्म अहोरात्र तैनाथ भइरहेको र विकट भौगोलिक बनावट र प्रतिकूल मौसमका बाबजुद समेत उच्च मनोवल र हौसलाका साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेकोमा प्रसंसा गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय, सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी तथा जिल्लास्थित सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...