करिब एक किलो सुनसहित २ विदेशी नागरिक पक्राउ

93

काठमाडौँ । नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

दुबइबाट नेपाल हुँदै झन्डै एक किलो सुन तस्करी गर्न लाग्दा भारतीय नागरिक पारसनाथ साह र बंगलादेशी नागरिक मोहम्मद उल्लाह पक्राउ परेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ अपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनीहरुले झन्डै एक किलो सुन तस्करी गर्न खोजेका थिए ।

विशेगा सूचनाका आधारमा सोमबार हिमालय एयरलाइन्सको उडान नम्बर एच९५६६ द्वारा दुबइबाट काठमाडौँ आएका बंगलादेशी नागरिक मोहम्मद उल्लाहमाथि अनुसन्धान गर्दा सुनसहित पक्राउ गरिएको हो ।

प्रहरी टोलीले जाँच गर्ने क्रममा उल्लाहले लगाएको पाइन्टको पेटी बाँध्ने भागमा फल्स बटम बनाइ डिटेक्ट गर्न नसक्ने गरी पेटी आकारको एक थान अर्धठोस सुन बरामद गरेको हो ।

यस्तै, उनले लगाएको भित्री बस्त्रबाट बेलान आकारको दुई थान अर्धठोस सुन बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुन झन्डै एक किलो (९३६ ग्राम) छ । उक्त सुनको हालको बजार मूल्य करिब ७७ लाख रुपैयाँ छ ।

उनका अनुसार उल्लाहसँगको बयानमा भारतीय नागरिक पारसनाथ साहले भन्सार छली गर्न लगाएको खुलेपछि उनलाई पनि पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सुन संकलन गर्ने कार्यमा सहको समेत संलग्नता देखिन आएकाले दुवै जनालाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरणमा बुझाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...