सङ्खुवासभा हत्या प्रकरण : एउटै चिर्पटबाट पाँच जनाको हत्या

468

चैनपुर । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँका एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ । उनी मृतक तेजबहादुर कार्कीका भतिज समेत हुन् ।

प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरुण बिसीका अनुसार प्रहरीले व्यक्तिगन रिसिबी, सुनियोजित हत्या, लुटपाटका लागि भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । तर, घरमा भएको सम्पत्ति र मृतकले लगाएको गरगहना सुरक्षित भएकाले लुटपाटका लागि हत्या भएको पाइएन भने बाहिरबाट आएर घटना गराएको पनि देखिएन ।

अनुसन्धानका क्रममा लोकबहादुरमाथि अनुसन्धानको दायरा साँघुरो भएको उनले बताए । त्यसक्रममा उनले आफैँले ६ जनाको हत्या गरेको स्वीकार गरेका छन् । लोकबहादुरले बताएअनुसार उनी वैदेशिक रोजगारीमा गएका थिए । तर, पछिल्लोपटक बिरामी भएर काम गर्न नसक्ने भएपछि फर्किएका थिए । आक्रमण र झैझगडा गर्ने उनले औषधिसमेत खाइसकेको पाइएको डिआइजी बिसीले जानकारी दिए ।

लोकबहादुरका हजुरबुबा र मृतक तेजबहादुरका बुबा मौद्धमान दाजुभाइ थिए । लोकबहादुरका हजुरबाले आफ्नो मृत्यु हुने क्रममा तेजबहादुरलाई आफ्ना रेखदेख गर्न आग्रह गरेका थिए । परिवारको हर्ताकर्ता तेजबहादुर बेलाबेला उनीहरुको घर जाने र सम्झाउने गरेका थिए । लोकबहादुरले भने भनेको नमान्ने, अल्छी स्वभावका भएकाले तेजबहादुरले बेलाबेला गाली गर्थे । काम नलाग्ने, पागल जस्ता शब्द प्रयोग गरेर गरेको गाली लोकबहादुरको मनमा गढेको पाइएको प्रहरी अधिकृतहरुले बताए ।

घटना भएको दिन तेजबहादुरले खेताला आउन भनेका थिए । लोकबहादुर र उनका भाइलाई पनि बोलाइएको थियो । तेजबहादुर घटना हुने दिन पनि बोलाउन गएका थिए । बाबु र भाइ घाँस काट्न गएका थिए भने लोकबहादुर घरमै थिए । बिहानै उठाउँदा लोकबहादुर रिसाए । विगतदेखि नै आफूलाई गालीगलोज गरेको मनमा गढेको आक्रोशसमेत भएकाले उनले तेजबहादुरलाई पच्छ्याउँदै गए । गोमनको रुख भएको स्थानमा पुगेपछि उनको टाउकोमा चिर्पटले हानेको पाइएको छ ।

२–३ पटक हानेपछि तेजबहादुरले ‘लोकेले मार्‍यो’ भनेर कराए । त्यो सुनेर घरमा भएकी उनकी श्रीमती कमला र बुहारी रञ्जना दौडिँदै आए । त्यो देखेपछि लोकबहादुरले तेजबहादुरको शवलाई कान्लामुनि धकेलिदिए र काकी भएतिर गए । उनलाई पनि त्यही चिर्पटले हानेर खोल्सा तल झारिदिए । त्यो देखेर बुहारी रञ्जना बेहोस भएर ढलिन् । उनी उठ्दाउठ्दै लोकबहादुरले चिर्पटले हाने ।

कमला र रञ्जनालाई पच्छ्याउँदै आएका दुई नाबालक दीपेन र गोमालाई पनि लोकबहादुरले लखेटी–लखेटी चिर्पटले हानेर हत्या गरेको अनुसन्धानको क्रममा खुलेको छ । एकै परिवारका ५ जनाको हत्यापछि उनी तेजबहादुरकै घरमा गए । जहाँ हजुरआमा पार्वती कुडो पकाइरहेकी थिइन् । लोकबहादुरले उनको टाउको भित्तामा बजारेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको डिआइजी बिसीले जानकारी दिए ।

६ जनाको हत्या गरेपछि लोकबहादुर घरमा गए र घटनामा प्रयोग भएको चिर्पट कुँडो पकाउन बालेको आगोमा हालेको पाइएको प्रहरीले जनाएको छ ।

गत सोमबार ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...