नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन भेटियो, पहिलेको भन्दा झनै शक्तिशाली

635

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएको नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७ एन म्युटेसन भेटिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार राष्ट्रिय जनस्वास्थ प्रयोगशालाले वैशाख २६ गतेदेखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानबाट फरक–फरक उमेर समूहको ४८ वटा नमुना संकलन गरी परीक्षणका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)द्वारा मान्यताप्राप्त इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टग्रेटिभ बायोलोजी प्रयोगशाला दिल्लीमा पठाएको थियो ।

जसान ९ वटा नमुनामा के४१७ एन नयाँ म्युटेसन (भाइरस उत्परिवर्तित रुप) पुष्टि भएको छ । साथै के ४१७एन भेरियन्ट अमेरिका, जापान, क्यानडा, रसिया, पोर्चुगल, भारत, स्वीट्जरल्यान्डलगायतका देशमा देखिसकेको छ ।

नयाँ म्युटेसनलाई एवाई.१ नाम पनि दिइएको मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

योसँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’को रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनहरुबाट पाइएको मन्त्रालयको भनाइ छ ।

 

Share This:
सम्बन्धित खबर
Loading...