गिटी, बालुवा निर्यात गरेर आधा जनसंख्यालाई भूक्षय र डुबानमा पार्ने योजना : नेपाल

232

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले व्यापारघाटा कम गर्ने नाममा ढुंगा, गिटी, बालुवा निर्यात गर्ने सरकारको निर्णय देशहित विपरीत र जनघाती योजना भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले चुरे दोहन गरेर मुलुकको आधा जनसंख्यालाई भोकमरी, भूक्षय र डुबानमा पार्ने योजना देशहितविपरीत र जनघाती रहेको बताएका हुन् । उनले उक्त निर्णय तत्काल सच्याउन माग पनि गरेका छन् ।

“बजेटमै ‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिनेछ, निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोपवे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु’ भनि लेखेको छ । यो खुल्लम खुला तराई–मधेश क्षेत्रलाई मरुभूमि बनाउने घोषणा हो,” सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

तराई क्षेत्रको जीवन र शिवालिक सध्यता नै चुरे क्षेत्रमा निर्भर भएको उनको भनाइ छ । “आधाभन्दा बढी नागरिकको बसोबास रहेको तराई क्षेत्रको जीवन र शिवालिक सभ्यता नै चुरे क्षेत्रमा निर्भर छ । त्यही चुरे मासेर ढुंगा, गिटी र बालुवा निर्यात गरी व्यापार घाटा कम गर्ने योजना गम्भीर छ,” नेपालले भने ।

चुरे क्षेधको संरक्षण नगरी तराईको उर्वरभूमि, सिमसार र सिंगो मानव सभ्यता नै संकटमा नै उनको ठहर छ । उनले लेखेका छन्, “ चुरे क्षेत्रको संरक्षण नगरी तराईको उर्वरभूमि, सिमसार र सिंगो मानव सभ्यता नै संकटमा पर्ने तथ्यलाई बुझेर नै मैले आर्थिक वर्ष २०६६÷६७ सालमा ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’को आरम्भ गरेको हुँ र त्यसपछि राष्ट्रिय गौरवको आयोजनाका रुपमा कार्यान्वयन हुँदै आएको छ ।”

Share This:
सम्बन्धित खबर
Loading...