कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आफ्ना ३ जना मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ ।
प्रदेश कमिटीको अध्यक्ष कर्ण बहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले तीनै जना मन्त्रीलाई छुट्टाछुट्टै पत्र लेख्दै सरकारबाट फिर्ता हुन निर्देशन दिएका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारमा एमालेबाट आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी मन्त्री छन् ।
सचिव रावलका अनुसार पार्टीको स्थायी कमिटी बैठकको निर्देशन बमोजिम माओवादी नेतृत्वको सरकारबाट फिर्ता हुन निर्देशन दिइएको थियो । गत शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुरुप ३ जना मन्त्रीलाई ११ जेठमा सरकारबाट फिर्ता हुन पत्र काटिएको थियो ।
तर, बुधबार बसेको एमाले सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो ।
सुदूरपश्चिम एमाले संसदीय दलमा माधव कुमार नेपाल समूहको बहुमत छ भने अहिले फिर्ता बोलाइएको तीनै जना मन्त्री नेपाल पक्षीय हुन् । संसदीय दलको निर्णयलाई ओली समूहका प्रदेशसभा सदस्यहरुले भने नमान्ने बताइसकेका छन् ।
सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका २५ जना सदस्य छन् । उनीहरुमध्ये नेपाल पक्षका १८ र ओली पक्षका ६ जना सांसद छन् ।