खनाल–नेपाल समूहका १५ नेताको वक्तव्यः ‘ओलीको प्रतिगमन’विरुद्ध डटेर लडौँ

388

काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल–माधव कुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निर्णायक संघर्षमा होमिन अपील गरेको छ । पछिल्लो पटक ११ नेतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने र १२ जनालाई स्पष्टीकरण सोध्ने निरंकुश तानाशाही निर्णय सार्वजनिक गरिएको भन्दै नेपाल समूहका १५ स्थायी कमिटी सदस्यले भत्र्सना गरेका छन् ।

बुधबार १५ स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै ओलीको निरंकुश र प्रतिगामी काम कारबाहीविरुद्ध एकता र सहकार्यका लागि सबै नागरिकलाई आह्वान गरेका छन् ।

“केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

एमालेमा नेपाल समूहले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाअनुसार पार्टी र संगठनलाई २ जेठ २०७५को स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएको छ । अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेताहरुलाई जिम्मेवारीमुक्त गर्नुका साथै पार्टी सदस्य नै नभएकाहरुलाई जिम्मेवारी दिने जस्ता अवैध निर्णय गरेको भन्दै खनाल–नेपाल समूहले समानान्तर कमिटीहरु बनाएको छ ।

पछिल्लो पटक एकताका लागि कार्यदल बनेको थियो । तर, प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग मिलेमतो गरेर संसद् विघटन गर्ने अलोकतान्त्रिक कार्य गरेको भन्दै नेपाल समूहका १५ नेताले संयुक्त वक्तव्यमा भनेका छन्,“प्रतिनिधिसभा विघटन गरिनु स्वेच्छाचारी र प्रतिगमनकारी कुकृत्य भएकाले यसको विरोधमा आवाज उठाउनु प्रत्येक लोकतान्त्रिक देशभक्त राजनीतिकर्मीको कर्तव्य हो ।”

प्रधानमन्त्रीमा कांग्रेस सभापति शेर बहादुर देउवालाई समर्थन गर्ने नेपाल समूहको निर्णयमा सहमति नजनाएका योगेश भट्टराई र गोकर्ण विष्टको पनि विज्ञप्तिमा नाम उल्लेख छ । केही दिन मौन देखिएका भट्टराई र विष्टले नेपाल समूहलाई छोडेको अनुमान गरिएको भएपनि आजको विज्ञप्तिले नेपाल समूहमै रहेको पुष्टि भएको छ ।

एमाले नेपाल समूह वक्तव्य
Share This:
सम्बन्धित खबर
Loading...