अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य सामाग्री खरिद गर्न थालियो : उपप्रधानमन्त्री पोखरेल

355

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य सामाग्री खरिद गर्न मन्त्रिपरिषदबाट निर्णय गरी प्रारम्भ र पहल थालिएको बताएका छन् ।

काठमाडौंको गौशालामा निर्माण गरिएको निःशुल्क कोभिड आइसोलेसन केन्द्रको शुभारम्भ गर्दै पोखरेलले सरकारले जनताको उपचार र जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेको र आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्न सुरु गरिसकेको बताएका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्धको खोप खरिदका लागि पनि औपचारिक प्रक्रिया प्रारम्भ गरेको जानकारी दिए । सात वटै प्रदेशमा सात वटा र काठमाडौंमा एउटा गरी एक हजार क्षमताका आठ वटा होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुटाइसकेकाले छिट्टै नेपाली सेनाले निर्माण सुरु गर्ने उनले जानकारी दिए ।

उपप्रधानमन्त्री पोखरेलले चुनौतीपूर्ण अवस्थामा पनि आइसोलेसन केन्द्र सञ्चालन गरेर सुन्दर दृष्टान्त प्रस्तुत गरेको भन्दै मारवाडी सेवा समितिको प्रशंसा गरे ।

आइसोसलेन केन्द्रलाई पूर्णरुपमा संचालन गर्न सिसिएमसी र स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने उनले बताए ।

मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको जानकारी दिए ।

मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा अक्सिजन सेवासहितको ५१ शय्याको आइसोलेसन केन्द्र सुरु गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...