जसपाका सांसद्हरुले स्वविवेकले निर्णय गर्न पाउने

563

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आइतबार पार्टी नेता बाबुराम भट्टराईको निवासमा बसेको जसपा शीर्ष नेताको बैठकले ओलीलाई विश्वासको मत नदिने सर्वसम्मत निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

ओलीलाई विश्वासको मत नदिने सर्वसम्मत निर्णय भएको तर प्रधानमन्त्रीको विपक्षमा रहने वा तथष्ट रहने भन्ने अधिकार सांसदहरुलाई नै दिने उनले बताए ।जसपाभित्र यादव र बाबुराम भट्टराई पक्षले प्रधानमन्त्रीको विपक्षमा र महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले तटस्थ बस्ने तयारी गरेका छन् ।

अध्यक्ष यादवले तटस्थ बस्ने वा प्रधानमन्त्रीको विपक्षमा मत दिने विषयमा सांसदहरुले स्वविकेक प्रयोग गर्न सक्ने बताए ।

बैठकपछि जसपाका अध्यक्ष महन्थ ठाकुरले संसदभित्र पूर्ण लोकतन्त्रको अभ्यास गर्ने बताए । उनले सांसदहरुलाई स्वविकेक प्रयोग गर्न छोडिदिने निर्णय भएको बताए ।

आइतबार जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि शीर्ष नेताको बैठक बसेको थियो । प्रधानमन्त्री ओलीसँगको भेटमा उनीहरुले आफूहरुले सरकारलाई विश्वासको मत दिए पार्टी विभाजन हुने भन्दै मत नदिने स्पष्ट पारेका थिए । प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिँदै छन् । संसदमा जसपामा हाल ३२ जना सांसद छन् ।

Share This:
सम्बन्धित खबर
Loading...