- सङ्गीता राई
सुनसरी, २८ साउन । गत असार १३ गते मध्यरात मुसलधारे पानी परिरहेको थियो । इलामको सुन्दर गाउँ रोङ गाउँपालिका–६, सलकपुरका ८८ वर्षीय कालुवीर मोक्तानको चट्याङ लागेर मृत्यु भयो । जीवनको लामो यात्रा पार गरिसकेका मोक्तानका लागि त्यो रातको चट्याङ ‘काल’ बनेर आयो । राति मुसलधारे पानी परिरहेको समय काठको बेरा र टिनको छानो भएको आफ्नो दुईतले घरको बरन्डामा बसिरहेका मोक्तान रातको करिब १ बजे अचानक आकाश थर्कियो वर्षासँगै आकाशबाट खसेको त्यही चट्याङको चपेटामा परेर घटनास्थलमै उहाँको मृत्यु भयो ।
त्यसैगरी, गत असार १४ गते सङ्खुवासभाको मकालु गाउँपालिका–१, चिर्खाङमा चट्याङ लागेर ३९ वर्षीया कुमारी राईको पनि मृत्यु भयो । ठुलो वर्षा र हावाहुरी चलिरहेका बेला घरमा रहेको मिटर बक्स बन्द गर्ने क्रममा चट्याङ लागेर उहाँ गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुमतर्फ लैजाँदै गर्दा बाटोमै उहाँको मृत्यु भयो ।
यी घटनाहरु केही उदाहरण मात्र हुन् । जब नेपालमा वर्षायाम सुरु भएसँगै आकाशमा काला बादल मडारिन थाल्छ, सहरबजारभन्दा गाउँघरमा चट्याङको डर र त्रास पैदा हुन थाल्छ । बाढी र पहिरोजस्ता आँखाले देखिने विपद्को चर्चा धेरै भए पनि कुनै पूर्वसङ्केत बिना आकाशबाट खस्ने चट्याङले हरेक वर्ष दर्जनौँको ज्यान लिने गरेको छ भने करोडौँ धनजनको क्षति हुने गर्दछ ।
नेपालमा बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्को चर्चा सधैँ अग्रपङ्क्तिमा हुन्छ तर तथ्याङ्क पल्टाएर हेर्ने हो भने यी ठुला र दृश्य विपद्भन्दा शान्त र अदृश्य रूपमा आउने ‘चट्याङ’ नेपालका लागि उत्तिकै घातक बन्दै गएको देखिन्छ । वर्षा सुरु हुनासाथ आकाशमा चम्किने बिजुली र त्यससँगै आउने गर्जन धेरैका लागि सामान्य प्राकृतिक घटना हुन् तर यही प्राकृतिक घटना केही सेकेन्डमै ज्यान लिने ‘अदृश्य काल’ बन्ने गरेको छ । विशेषगरी मनसुनको समयमा कोशी प्रदेशका पहाडी तथा तराई जिल्लामा चट्याङका घटना बढ्ने गरेका छन् ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो पाँच वर्षको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ देखि चालु आवमा २०८२/८३ को असार सम्ममा चट्याङका कारण प्रदेशमा ६६ नागरिकले ज्यान गुमाइसकेका छन् भने २१८ जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये ४४ पुरुष र २२ महिला रहेका छन् । घाइतेमध्ये ११५ पुरुष र १०३ महिला छन् । पुरुषहरु बाहिरी काममा बढी संलग्न रहने भएकाले महिलाको तुलनामा पुरुष बढी चट्याङको जोखिममा पर्ने गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले बताउनुभयो । कार्यालयका अनुसार आव २०७८/७९ मा १५ जनाको मृत्यु भएको छ । आव २०७९/८० मा १२ जना, आव २०८०/८१ मा १२ जना, आव २०८१/८२ मा १८ जना तथा चालु आव २०८२/८३ को असार २५ गतेसम्म नौ जनाको चट्याङका कारण मृत्यु भएको छ ।
कोसी प्रदेशमा पछिल्लो पाँच आर्थिक वर्षको तथ्याङ्क अनुसार चट्याङका घटनाबाट घाइतेको विवरण हेर्दा सबैभन्दा बढी ओखलढुङ्गामा पाँच वर्षको अवधिमा ४३ जना घाइते भएका छन् । त्यसैगरी, भोजपुरमा ४० जना, उदयपुरमा ३३ जना, खोटाङमा २७ जना र ताप्लेजुङमा १९ जना घाइते भएका छन् । त्यस्तै, झापा र सुनसरीमा १३र१३ जना, धनकुटामा नौ जना, पाँचथर र मोरङमा आठ/आठ जना तथा सोलुखुम्बुमा छ जना घाइते भएका छन् । इलाम, तेह्रथुम र सङ्खुवासभामा भने उक्त अवधिमा चट्याङबाट घाइते भएको विवरण शून्य रहेको तथ्याङ्कमा उल्लेख छ । पाँच वर्षको अवधिमा कोसी प्रदेशमा २१८ जना घाइते भएका छन् । चट्याङले विशेषगरी पहाडी जिल्लामा बढी प्रभाव पारिरहेको छ ।
मानिस मात्र होइन, चट्याङले पशुधन र भौतिक संरचनामा पनि ठुलो क्षति पुर्याउने गरेको छ । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता थापाका अनुसार पाँच वर्षको अवधिमा चट्याङका कारण एक हजार ३२ वटा पशुचौपाया मरेका छन् भने चट्याङका कारण लागेको आगलागीबाट प्रदेशका १७० वटा घर तथा गोठ जलेर नष्ट हुँदा तीन करोड ७२ लाख ६५ हजार ३५० रूपैयाँ बराबरको क्षति भएको छ ।
नेपालमा वर्षायाम सुरु हुनासाथ रेडियो, पत्रपत्रिका, अनलाइनदेखि टेलिभिजनसम्म बाढी र पहिरोकै चर्चा र बहस बढी सुनिन्छ तर आफ्नै घरभित्र सुरक्षित बसिरहेका सर्वसाधारणले चट्याङका कारण बर्सेनि ज्यान गुमाउनु परिरहेको तीतो यथार्थ ओझेलमा पर्ने गरेको छ । सहरको तुलनामा ग्रामीण बस्तीहरू चट्याङको उच्च जोखिम हुने गरेको छ । गाउँघरमा प्रायः घरहरू काठ र टिनले बनेका हुन्छन्, जहाँ चट्याङबाट बच्ने ‘अर्थिङ’ (सुरक्षा प्रविधि) जडान गरिएको हुँदैन । पहाडी भेगका स्थानीय बासिन्दामा यसबारे न त पर्याप्त सचेतना नै छ । यस्तो अवस्थामा आकाशबाट खस्ने बिजुलीको एउटै झट्काले परिवारको ओत लाग्ने ठाउँ मात्र उजाड बनाउँदैन, घरका सदस्य नै सधैँका लागि खोसेर लैजान्छ ।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ विभागीय मौसमविद् विभूति पोख्रेलले पछिल्ला केही वर्षयता मौसममा देखिएको अस्थिरता र जलवायु परिवर्तनको प्रभावका कारण मेघगर्जनसहित चट्याङका घटना बढ्दो क्रममा देखिएको बताउनुभयो । “मनसुन तथा प्रि–मनसुन अवधिमा मौसममा अचानक परिवर्तन भई मेघगर्जन, हावाहुरी र वर्षासँगै चट्याङ पर्ने सम्भावना उच्च रहने भएकाले विशेष सतर्कता आवश्यक हुन्छ,” उहाँले भन्नुभयो ।
चट्याङ प्राय खुला स्थानमा रहेका मानिसलाई बढी प्रभावित गर्छ । खेतबारीमा कृषि कार्य गरिरहेका किसान, पशुचौपाया चराइरहेका गोठाला, जङ्गलमा घाँस दाउरा सङ्कलन गर्न गएका स्थानीय तथा खुला चौर, डाँडाकाँडा वा नदीकिनारमा रहेका व्यक्तिहरू बढी जोखिममा पर्ने गरेको उहाँको भनाइ छ । ग्रामीण क्षेत्रमा जीविकोपार्जनका अधिकांश काम खुला वातावरणमै हुने भएकाले चट्याङबाट हुने मानवीय क्षति पनि पहाडी भेगका ग्रामीण क्षेत्रहरुमा तुलनात्मक रूपमा बढी देखिने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मौसम खराब हुने सङ्केत देखिन साथ खुला स्थानबाट सुरक्षित आश्रयमा जानुपर्छ, अग्ला रुखमुनि बस्न हुन्न, बिजुलीका पोल, टेलिफोनका तार, ट्रान्सफर्मर तथा अन्य धातुजन्य संरचनाबाट टाढा रहन सके चट्याङको जोखिम कम हुन्छ ।’’ सकेसम्म पक्की भवनभित्र बस्ने, झ्याल–ढोका बन्द गर्ने, विद्युतीय उपकरणको अनावश्यक प्रयोग नगर्ने तथा मौसमसम्बन्धी सूचना र पूर्वानुमान नियमित रूपमा पछ्याउने बानी बसाल्नुपर्ने उहाँको सुझाव छ ।
चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि व्यक्तिगत सावधानी मात्र पर्याप्त भने हुँदैन । विद्यालय, स्थानीय तह, समुदाय तथा सरोकारवाला निकायले नियमित रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु, चट्याङबाट बच्ने उपायबारे नागरिकलाई जानकारी गराउनु तथा मौसमसम्बन्धी पूर्वसूचना प्रभावकारी रूपमा स्थानीयस्तरसम्म पुर्याउनसके मानवीय तथा भौतिक क्षति घटाउन सकिने मौसमविद् पोख्रेलको भनाइ छ ।
अभिलेख राख्न ‘लाइटनिङ डिटेक्सन नेटवर्क’ आवश्यक
चट्याङ कहाँ, कहिले, कति पटक र कति तीव्रतासहित परेको थियो भन्ने वैज्ञानिक अभिलेख राख्न ‘लाइटनिङ डिटेक्सन नेटवर्क’ अपरिहार्य मानिन्छ । कोशी प्रदेशमा यस्तो प्रणाली प्रभावकारी रूपमा सञ्चालनमा नहुँदा चट्याङका घटनाको विस्तृत र वैज्ञानिक अभिलेख राख्न चुनौती रहेको छ । जल तथा मौसम विज्ञान कार्यालय धरानका सूचना अधिकारी रूपक थापाका अनुसार प्रदेशभर चट्याङको स्थान, समय, आवृत्ति र तीव्रता मापन गरी अभिलेख राख्ने प्रणाली हाल सञ्चालनमा छैन । उहाँका अनुसार कोसी प्रदेशमा अहिले विराटनगर विमानस्थलमा रहेको ‘लाइटनिङ डिटेक्टर’बाट मात्रै सीमित रूपमा विवरण प्राप्त हुने गरेको छ । विमानस्थलको हवाई सेवा सञ्चालनसँग सम्बन्धित प्रयोजनका लागि जडान गरिएको उक्त उपकरणले विमानस्थल सञ्चालन अवधिमा मात्र रेकर्ड गर्ने भएकाले प्रदेशभरका चट्याङका घटनाको समग्र विवरण सङ्कलन गर्न पर्याप्त नरहेको उहाँको भनाइ छ ।
लाइटनिङ डिटेक्टर उपकरण धरानमा पनि छ तर धरानमा रहेको लाइटनिङ डिटेक्टर उपकरण केही वर्षअघिसम्म सञ्चालनमा रहे पनि अहिले बिग्रेको अवस्थामा रहेको छ । आवश्यक मर्मत तथा स्तरोन्नति हुन नसक्दा उपकरण पुनः सञ्चालनमा आउन सकेको छैन । थापा भन्नुहुन्छ, “धरान कार्यालयमा रहेको लाइटनिङ डिटेक्टर लामो समयदेखि बिग्रिएको कारण अहिले कोशी प्रदेशमा विराटनगर विमानस्थलबाहेक अन्यत्र चट्याङ मापन गर्ने प्रभावकारी प्रणाली छैन ।’’
कोसी प्रदेशमा चट्याङका अधिकांश घटना प्रि–मनसुन र मनसुन अवधिमा हुने गरेका छन् । तर, प्रदेशका कुन क्षेत्रमा, कुन समयमा, कति पटक र कति तीव्रतासहित चट्याङ पर्यो भन्ने तथ्याङ्क नियमित रूपमा सङ्कलन गर्ने प्रणाली नहुँदा वैज्ञानिक अध्ययन तथा जोखिम विश्लेषण गर्न कठिनाइ भइरहेको छ । दैनिक, मासिक वा वार्षिक रूपमा चट्याङको अभिलेख राख्ने व्यवस्था छैन । कुन जिल्ला बढी प्रभावित भयो, जोखिमको प्रवृत्ति कस्तो छ भन्ने विषयमा विस्तृत विश्लेषण गर्न पनि कठिन हुने गरेको उहाँले बताउनुभयो ।
थापाका अनुसार चट्याङको वैज्ञानिक अभिलेखले जोखिमयुक्त क्षेत्र पहिचान, पूर्वसूचना प्रणालीको विकास, विपद् व्यवस्थापन योजना निर्माण तथा जनधनको क्षति न्यूनीकरणका लागि महत्त्वपूर्ण आधार प्रदान गर्छ । त्यसैले प्रदेशका विभिन्न जिल्लामा लाइटनिङ डिटेक्सन नेटवर्क विस्तार गरी त्यसलाई नियमित सञ्चालनमा ल्याउन सके चट्याङसम्बन्धी तथ्याङ्क सङ्कलन, अनुसन्धान तथा पूर्वतयारीका काम अझ प्रभावकारी हुने उहाँको भनाइ छ । –रासस