- मनिषा बस्नेत
काठमाडौँ, २७ साउन । नेपाल युवा परिषद्का संस्थापक एवम् अध्यक्ष सरोज बाँनियाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्न सरकारले नीतिगत प्राथमिकता निर्धारण गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँका अनुसार सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई) लगायतका क्षेत्रमा आवश्यक सीप प्रदान गर्न सके नेपाली युवाले स्वदेशमै बसेर विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था सिर्जना गर्न सकिन्छ ।
नेपाल न्युज बैङ्कसँगको कुराकानीमा बाँनियाले युवाका लागि अहिलेको सबैभन्दा ठुलो आवश्यकता सीप भएको बताउँदै प्रविधिको विकाससँगै रोजगारीको स्वरुप पनि परिवर्तन भइरहेकाले त्यसअनुसार युवालाई तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
“प्रतिस्पर्धात्मक विश्वमा अहिले सीप सबैभन्दा महत्त्वपूर्ण कुरा हो । सीपभित्र पनि प्राविधिक सीपलाई प्राथमिकतामा राखेर युवालाई तालिम दिन सक्यौँ भने उनीहरुले विश्व बजारमा प्रतिस्पर्धात्मक रुपमा आफ्नो क्षमता प्रस्तुत गरेर जीविकोपार्जन गर्न सक्छन्,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार नेपालमा उपलब्ध प्रविधि र स्रोतसाधनको उपयोग गर्न कतिपय नीतिगत तथा कानुनी अवरोध रहेका छन् । विश्व बजारमा नेपाली युवाले आफ्नो सीप तथा उत्पादन बिक्री गर्न सक्ने सहज वातावरण बनाउन सरकारको ध्यान जानुपर्ने बाँनिया बताउनुहुन्छ ।
बाँनियाका अनुसार नेपालमा बसेर अन्तर्राष्ट्रिय बजारका लागि काम गर्ने युवालाई अन्तर्राष्ट्रिय भुक्तानी प्राप्त गर्ने, आवश्यक अनलाइन सेवा तथा सफ्टवेयर प्रयोग गर्ने र आफ्नो उत्पादन विश्व बजारमा पुर्याउने विषयमा देखिएका कानुनी तथा नीतिगत अवरोध हटाउन आवश्यक छ ।
उहाँले सरकारले विद्यालय तहदेखि नै एआई तथा सूचना प्रविधिसम्बन्धी सीपलाई शिक्षासँग जोड्नुपर्ने बताउनुभयो । प्लस टु वा माध्यमिक तहको शिक्षा पूरा गरेपछि बजारमा प्रवेश गर्ने युवाले कम्तीमा केही आयआर्जन गर्न सक्ने गरी सीप विकास गरिनुपर्ने उहाँको भनाइ छ ।
युवालाई विश्व बजारसँग जोड्न प्राविधिक सीपसँगै भाषा तथा सञ्चारसम्बन्धी सीप पनि आवश्यक छ । विश्व बजारमा काम गर्न चाहने युवालाई सरकारले भाषा, डिजिटल प्रविधि र अन्तर्राष्ट्रिय बजारसम्बन्धी आवश्यक ज्ञान तथा तालिम उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ ।
युवा राजनीतिक औजार होइनन्, आर्थिक पुँजी हुन्
बाँनियाले युवालाई राजनीतिक परिवर्तनका लागि प्रयोग गर्ने औजारका रुपमा मात्र नभइ मुलुकको आर्थिक विकासको महत्त्वपूर्ण पुँजीका रुपमा हेर्नुपर्ने बताउनुभयो ।
उहाँले युवालाई नेपालको अर्थतन्त्र र दैनिक विकास प्रक्रियासँग जोड्न राज्यले दीर्घकालीन नीति बनाउनुपर्नेमा जोड दिनुभयो । युवाको क्षमता विकास गर्दै उनीहरुलाई उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनामा परिचालन गर्न सके मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ ।
“युवा हाम्रो लागि पुँजी हुन् । यो पुँजीलाई हामीले नेपालको अर्थतन्त्रसँग जोड्नुपर्छ । दैनिक विकाससँग जोड्न युवालाई शक्तिका रुपमा अगाडि लैजानुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार राज्यले मात्र सबै समस्या समाधान गर्नेभन्दा युवा स्वयंले पनि आफूले सामना गरिरहेको समस्या पहिचान गरी समाधानको खोजी गर्नुपर्छ । युवा, सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबिच सहकार्य र स्पष्ट जिम्मेवारी निर्धारण आवश्यक रहेको उहाँले बताउनुभयो ।
युवाले कुनै उद्यम वा परियोजना सुरु गर्नुअघि त्यसको बजार, सम्भावित आम्दानी, रोजगारी सिर्जना गर्ने क्षमता तथा नीतिगत चुनौतीको अध्ययन गर्न सक्ने अवस्था अहिले प्रविधिले सहज बनाएको उहाँको भनाइ छ ।
“राज्यले यति लगानी ग¥यो भने हामी यति रोजगारी सिर्जना गर्न सक्छौँ, यति आम्दानी हुन्छ र यति कर राज्यलाई फर्काउन सक्छौँ भन्ने आधारमा युवाले सरकारसँग संवाद र सहकार्य गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
निजी क्षेत्रले नयाँ उद्यमीलाई मार्गदर्शन गर्नुपर्ने
उहाँले नयाँ पुस्ताका उद्यमीलाई निजी क्षेत्रले अनुभव र मार्गदर्शन उपलब्ध गराउनुपर्ने बताउनुभयो । पुराना तथा अनुभवी व्यवसायीले आफ्नो क्षेत्रमा रहेका अवसर, चुनौती र विगतका कमजोरीबारे नयाँ उद्यमीलाई जानकारी गराउन सके नयाँ पुस्ताले पुराना गल्ती दोहोर्याउन नपर्ने उहाँको भनाइ छ ।
विशेषगरी कृषि, खाद्य उद्योग, पर्यटन तथा सूचना प्रविधिजस्ता क्षेत्रलाई प्रविधिसँग जोडेर नयाँ व्यवसाय सिर्जना गर्न सकिने उहाँले बताउनुभयो । निजी क्षेत्रका अनुभवी व्यवसायीले युवालाई अभिभावकत्व प्रदान गर्दै सरकारसँग आवश्यक नीतिगत सहजीकरणका लागि पहल गर्नुपर्ने उहाँको भनाइ छ ।
“व्यवसाय जटिल र चुनौतीपूर्ण विषय हो । त्यसैले अनुभवी उद्यमीले नयाँ युवालाई चुनौतीभित्र रहेका सम्भावना देखाइदिनुपर्छ,” उहाँले भन्नुभयो ।
एआई र डिजिटल प्रविधिबाट स्थानीय अर्थतन्त्रमा अवसर
बाँनियाले एआई र डिजिटल प्रविधिको प्रयोगमार्फत स्थानीय स्तरमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न सकिने बताउनुभयो । स्थानीय तहले आफ्ना क्षेत्रका युवालाई एआई, डिजिटल सामग्री निर्माण, मल्टिमिडिया, पोडकास्ट तथा सामाजिक सञ्जालमार्फत स्थानीय पर्यटन, संस्कृति, खानाका परिकार र धार्मिकस्थलको प्रचारप्रसार गर्न आवश्यक सीप प्रदान गर्नुपर्ने उहाँको सुझाव छ ।
उहाँका अनुसार स्थानीय युवालाई डिजिटल सीप प्रदान गरेर स्थानीय पर्यटन तथा उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिन्छ । यसबाट एकातिर युवाले आम्दानी गर्न सक्ने र अर्कोतर्फ स्थानीय अर्थतन्त्रसमेत चलायमान बन्ने उहाँको भनाइ छ ।
“स्थानीय स्तरमा युवालाई एआईका टुल्स प्रयोग गर्ने सीप दिन सकियो भने स्थानीय पर्यटन, खानाका परिकार र सांस्कृतिक स्थललाई विश्व बजारसम्म पुरयाउन सकिन्छ,” उहाँले भन्नुभयो ।
उहाँले युवाले लेखन, सामग्री निर्माण, मल्टिमिडिया, प्रोग्रामिङलगायतका विभिन्न सीप सिक्नुपर्ने बताउनुभयो । एआईले धेरै काम सहज बनाइदिए पनि त्यसको सही प्रयोगका लागि सम्बन्धित विषयको आधारभूत ज्ञान आवश्यक हुने उहाँको भनाइ छ ।
नीति सहर केन्द्रित भएको गुनासो
बाँनियाले युवासम्बन्धी नीति अझै पनि सहर केन्द्रित रहेको बताउनुहुन्छ । ग्रामीण तथा दुर्गम क्षेत्रका युवासम्म सरकारी नीति तथा कार्यक्रम प्रभावकारी रुपमा पुग्न नसकेको उहाँको भनाइ छ । उहाँले केन्द्र र प्रदेश सरकारले स्थानीय तहको क्षमता अभिवृद्धि गरेर युवासम्बन्धी कार्यक्रम गाउँ, टोल र समुदाय तहसम्म पुर्याउनुपर्ने बताउनुभयो ।
“जे नीति बनेको छ त्यो अलि बढी सहर केन्द्रित भइरहेको हामी पाउन सक्छौँ । सरकारले बनाएको युवाको नीति तथा कार्यक्रम ७५३ पालिका विभिन्न वडा वडाका गाउँसम्म पुगेर त्यहाँका युवाले पनि यो नीति मेरो लागि रहेछ भन्ने अनुभूत गर्न पाउनुपर्छ,” उहाँले भन्नुभयो ।
स्थानीय सरकारलाई आवश्यक स्रोत, सीप र अधिकार प्रदान गर्न सके सबै समुदायका युवासम्म कार्यक्रम पुर्याउन सकिने उहाँको भनाइ छ ।
युवा प्रतिनिधित्वलाई नीतिमा रूपान्तरण गर्नुपर्ने
बाँनियाले पछिल्लो समय राज्यका विभिन्न तहमा युवा प्रतिनिधित्व बढेको उल्लेख गर्दै त्यसलाई नीतिगत उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो ।
उहाँका अनुसार नेपालको कुल जनसङ्ख्यामा १६ देखि ४० वर्ष उमेर समूहको हिस्सा ४२.५६ प्रतिशत रहेको छ। यस्तो जनसाङ्ख्यिक अवस्थालाई मुलुकको आर्थिक विकासका लागि अवसरका रुपमा उपयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
युवाको राजनीतिक प्रतिनिधित्व मात्र पर्याप्त नभइ त्यसलाई रोजगारी, उद्यमशीलता, शिक्षा, सीप विकास र आर्थिक अवसर सिर्जना गर्ने नीतिमा रूपान्तरण गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले अहिलेको जनसाङ्ख्यिक अवसर सधैँ कायम नरहने भएकाले सरकारले यही समयमा युवाकेन्द्रित दीर्घकालीन नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्ने
युवाको क्षमता विकासका लागि शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको उहाँ बताउनुहुन्छ । रोबोटिक्स, एआई तथा अन्य प्रविधिको विकास तीव्र भइरहेका बेला नेपालको शिक्षण पद्धतिलाई पनि प्रविधिमैत्री बनाउनुपर्ने उहाँको भनाइ छ ।
उहाँले शिक्षा र सीपलाई उद्यमशीलतासँग जोड्न प्रत्येक क्षेत्रमा युवाका लागि सीप विकास केन्द्र स्थापना गर्नुपर्ने बताउनुभयो । सबै युवासँग उपकरण, इन्टरनेट वा आवश्यक सफ्टवेयर खरिद गर्ने क्षमता नहुन सक्ने भएकाले राज्यले सामुदायिक तथा सार्वजनिक पहुँचका सीप विकास केन्द्र स्थापना गर्नुपर्ने उहाँले सुझाव छ ।
सीप विकासपछि युवालाई उद्यमशीलतातर्फ लैजान सके रोजगारी सिर्जना हुनुका साथै राज्यको आम्दानीसमेत बढ्ने उहाँको भनाइ छ ।
रोजगारी सिर्जना नगरी वैदेशिक रोजगारी रोक्न कठिन
बाँनियाले स्वदेशमा रोजगारी वा निश्चित आम्दानीको अवसर सुनिश्चित नभएसम्म वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या घटाउन कठिन हुने बताउनुभयो । विदेशमा निश्चित आम्दानीको अपेक्षा गर्न सकिने तर नेपालमा रोजगारीको सुनिश्चितता नहुँदा युवा विदेश जान बाध्य हुने उहाँको भनाइ छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई स्वदेश फर्किएर लगानी गर्ने वातावरण निर्माण गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । विदेशमा सीप तथा पुँजी आर्जन गरेका नेपालीले स्वदेशमै कृषि, पर्यटन, उद्योग तथा अन्य क्षेत्रमा लगानी गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सक्ने उहाँको भनाइ छ ।
“विदेशमा रहेका नेपालीले पुँजी ल्याएर गाउँमै २०–२५ जनालाई रोजगारी दिन सके त्यसले स्थानीय अर्थतन्त्रमा ठुलो योगदान पुर्याउन सक्छ,” उहाँले भन्नुभयो ।
सीप सिक्न ढिला नगरौँ
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवालाई सन्देश दिँदै बाँनियाले आफ्नो रुचि र आवश्यकता पहिचान गरी तत्काल सीप सिक्न आग्रह गर्नुभयो । उहाँले पत्रकारिता, कला, प्रविधि वा अन्य जुनसुकै क्षेत्रमा भए पनि आगामी दिनमा प्रविधिसँग जोडिनुपर्ने भएकाले युवाले आफूलाई आवश्यक सीप पहिचान गरी निरन्तर सिकाइमा लाग्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारलाई युवालक्षित उद्यमशीलता कार्यक्रम, सीप विकास योजना तथा नीतिगत सहजीकरणका कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । देशभित्र र विदेशमा रहेका युवाले पनि सरकारका नीति निर्माणमा सुझाव दिन तथा आफूले गर्न सक्ने काममा सक्रिय हुनुपर्ने उहाँको भनाइ छ ।
नेपालको युवाशक्तिलाई सीप, प्रविधि र उद्यमशीलतासँग जोड्न सके वैदेशिक रोजगारीमा निर्भरता घटाउँदै स्वदेशमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न सकिने उहाँले बताउनुभयो । उहाँले विशेषगरी आफ्नो गृह जिल्ला नुवाकोट तथा विदुर नगरपालिकाका युवालाई प्रविधिसँग जोड्ने र प्राविधिक सीप प्रदान गर्ने कार्यमा आफू निरन्तर सक्रिय रहने बताउनुभयो ।
उहाँका अनुसार युवाको क्षमता विकास, सरकारको नीतिगत सहजीकरण, निजी क्षेत्रको अनुभव र स्थानीय तहको प्रभावकारी परिचालनबीच समन्वय हुन सके नेपालमा युवालाई रोजगारी खोज्ने मात्र नभइ रोजगारी सिर्जना गर्ने पुस्ताका रुपमा विकास गर्न सकिन्छ । –नेपाल न्युज बैङ्क