- मनिषा बस्नेत
काठमाडौँ, २४ असार । सानो घरायसी आवश्यकता पूरा गर्न लिएको डेढ लाख रुपैयाँ ऋणले सर्लाही बरहथवा नगरपालिका–९ का भागनारायण महतो र उहाँकी पत्नी उमाकुमारी महतोको जीवन नै सङ्कटमा पुर्याएको छ ।
ऋण लिएको वर्षौँ बितिसक्दा पनि आफूहरू ऋणबाट मुक्त हुन नसकेको र उल्टै घरजग्गासहित जीवनभरको कमाइ गुमाउनुपरेको भन्दै महतो दम्पती विगत ९६ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्नामा बस्नुभएको छ ।
मिटर ब्याजबाट पीडित भएको दाबी गर्दै आउनुभएका उहाँहरू नयाँ सरकार गठनसँगै न्याय पाउने आशामा काठमाडौँ आएको बताउनुहुन्छ । तर, लामो समय बित्दै जाँदा पनि आफ्नो माग सम्बोधन नभएपछि अझै सङ्घर्षमै रहनुपरेको उनीहरूको भनाइ छ ।
भागनारायण महतोका अनुसार २०७२ सालमा उहाँकी पत्नी उमाकुमारी महतोले घरखर्च चलाउन छिमेकी निशान मैनालीको परिवारबाट डेढ लाख रुपैयाँ ऋण लिनुभएको थियो । आर्थिक अवस्था कमजोर भएका कारण तत्कालीन अवस्थामा सामान्य आवश्यकता पूरा गर्न उक्त रकम लिएको उहाँले बताउनुभयो ।
तर, त्यही ऋण विस्तारै ठुलो समस्यामा परिणत भएको महतोको भनाइ छ । उहाँले आफूहरूले लिएको रकमभन्दा धेरै गुणा बढी रकम बुझाउँदा पनि ऋण समाप्त नभएको र अन्ततः आफ्नो जग्गासमेत गुमाउनुपरेको आरोप लगाउनुभयो ।
“हामीले डेढ लाख रुपैयाँ ऋण लिएका थियौँ । तर, केही दिनमै ठुलो रकमको तमसुक बनाइयो । त्यसपछि हाम्रो जग्गा पनि गयो । आजसम्म ६०–६५ लाख रुपैयाँसम्म बुझाइसकेका छौँ, तर अझै ऋणबाट मुक्त हुन सकेका छैनौँ,” महतोले भन्नुभयो ।
उहाँका अनुसार ऋण लिएको चार दिनमै १० लाख रुपैयाँको तमसुक बनाइएको थियो । उहाँले वास्तविक कारोबारभन्दा धेरै रकमको कागज तयार गरी आफूहरूलाई समस्यामा पारिएको आरोप लगाउनुभयो ।
महतोले आफू र आफ्नी पत्नी सामान्य परिवारका भएको, आफ्नो पत्नीले सामान्य लेखपढ गर्न पनि नसक्ने भएको ठगिमा परेको बताउनुभयो । उहाँका अनुसार आफूहरू अशिक्षित भएकै कारण कागजातको विषयमा धेरै कुरा बुझ्न नसकेको र त्यसको फाइदा उठाइएको हो ।
“हामीलाई कागजमा के लेखिएको छ भन्ने सबै कुरा थाहा थिएन । विश्वास गरेर हस्ताक्षर गरियो । पछि थाहा भयो कि हाम्रो सम्पत्ति नै गइसकेको रहेछ,” उहाँले भन्नुभयो ।
महतोले जग्गा हस्तान्तरण प्रक्रियामा संलग्न व्यक्ति र ऋण कारोबारमा जोडिएका सबै पक्षमाथि छानबिन हुनुपर्ने माग गर्नुभयो । “जसले गलत गरेको छ, उसलाई कानुनअनुसार कारबाही हुनुपर्छ । हाम्रो सम्पत्ति कसरी गयो भन्ने विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले जग्गा नामसारी प्रक्रियामाथि समेत प्रश्न उठाउनुभएको छ । महतोका अनुसार आफूहरूलाई जानकारी नदिइ जग्गा हस्तान्तरण गरिएको र त्यस प्रक्रियामा संलग्न व्यक्तिहरूमाथि समेत अनुसन्धान आवश्यक रहेको छ ।
उहाँले भन्नुभयो, “ऋण दिएको विषय एउटा कुरा हो । तर, ऋणको नाममा कसरी हाम्रो जग्गा गयो, कसरी कागज बन्यो भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्छ ।”
ऋणभन्दा ठुलो बन्यो समस्या
महतो दम्पतीको भनाइअनुसार डेढ लाख रुपैयाँको ऋणले उनीहरूको परिवारको आर्थिक अवस्था मात्र बिगारेन, सामाजिक र पारिवारिक जीवनसमेत प्रभावित बनाएको छ ।
भागनारायण महतोले आफूले जीवनभर मेहनत गरेर कमाएको सम्पत्ति गुमाउनुपरेको बताउनुभयो । उहाँका अनुसार अहिले परिवार चलाउनसमेत कठिन अवस्था सिर्जना भएको छ ।
“हामीले आफ्नो जीवनभर कमाएको सबै कुरा गुमायौँ । अहिले हामीसँग केही बाँकी छैन । एउटा सानो ऋणले हाम्रो घरपरिवार नै तहसनहस बनायो,” उहाँले भन्नुभयो । उहाँले आफूहरू अहिले न्यायको खोजीमा सडकमा आउन बाध्य भएको बताउनुभयो ।
“हामी कसैसँग झगडा गर्न आएका होइनौँ । हामीलाई न्याय चाहिएको हो । गलत भएको छ भने त्यसको छानबिन होस् र दोषीमाथि कारबाही होस् भन्ने हाम्रो माग हो,” उहाँले भन्नुभयो ।
महतो दम्पतीले समस्या समाधानका लागि स्थानीय तहदेखि केन्द्र सरकारसम्म पुगेको बताएका छन् । उनीहरूले स्थानीय प्रशासन, नगरपालिका र अन्य सम्बन्धित निकायमा जानकारी गराए पनि प्रभावकारी समाधान नपाएको गुनासो गरेका छन् ।
महतोका अनुसार स्थानीय तहमा पटक–पटक छलफलको प्रयास भए पनि समस्या समाधानतर्फ ठोस कदम चालिएन । “हामी धेरै ठाउँमा गयौँ । आफ्नो समस्या सुनायौँ । तर, आश्वासन मात्र पाइयो, न्याय पाएनौँ,” उहाँले भन्नुभयो ।
उहाँले विगतका सरकारका प्रतिनिधिहरूसँग समेत न्यायको माग गरेको बताउनुभयो । तर, पटक–पटक आश्वासन पाए पनि समस्या समाधान नभएको उहाँको भनाइ छ ।
महतोका अनुसार अहिलेको सरकार गठन भएपछि आफूहरूले फेरि आशा गरेका छन् । नयाँ सरकारले मिटर ब्याजपीडितका समस्या समाधान गर्ने विश्वासका साथ आफूहरू काठमाडौं आएको उहाँले बताउनुभयो ।
गृह मन्त्रालयबाट आश्वासन मात्र पाइयो, न्याय पाइएन
केही समयअघि गृहमन्त्री सुदन गुरुङ धर्नामा बसेको पीडितलाई भेट्न माइतिघर पुग्दा महतोले आफ्नो माग राखेका थिए । महतोले गृह मन्त्रालयबाट घटनाको अनुसन्धान गर्ने र छानबिन गर्ने आश्वासन पाएको बताए । तर, भेट भएको लामो समय बितिसक्दा पनि ठोस प्रक्रिया अघि नबढेको उहाँको गुनासो छ ।
“हामीलाई छानबिन गर्छौँ, अनुसन्धान गर्छौँ भनिएको थियो । तर, समय बित्दै गएको छ । एउटा सामान्य नागरिकको समस्या समाधान गर्न पनि यति धेरै समय लाग्नु दुःखद हो,” उहाँले भन्नुभयो ।
उहाँले सरकारले पीडित नागरिकको समस्या तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो । “ठुला मानिसको समस्या समाधान गर्न वर्षौँ लाग्न सक्छ, तर सामान्य नागरिकको समस्या सरकारले छिटो सुन्नुपर्छ,” उहाँले भन्नुभयो ।
सम्पत्ति फिर्ता र दोषीमाथि कारबाही माग
महतो दम्पतीको मुख्य माग आफ्नो सम्पत्तिको विषयमा निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाही हो ।
“हामीले कसैलाई सजाय दिनुपर्छ भनेर मात्र भनेका होइनौँ । सत्य के हो भनेर अनुसन्धान होस् । यदि कसैले गलत गरेको छ भने कानुनअनुसार कारबाही होस्,” महतोले भन्नुभयो ।
उहाँले ऋण कारोबारको नाममा हुने शोषण अन्त्य हुनुपर्ने बताउनुभयो । “गरिब, अशिक्षित र कमजोर आर्थिक अवस्थाका मानिसलाई ऋणको नाममा घरबारविहीन बनाउने अवस्था अन्त्य हुनुपर्छ,” उहाँले भन्नुभयो ।
सङ्कटमा छोराछोरीको भविष्य
महतोले आफ्नो परिवारको आर्थिक सङ्कटले छोराछोरीको भविष्यसमेत प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार आर्थिक अभावका कारण छोराछोरीको पढाइ रोकिएको छ । परिवारको अवस्था कमजोर भएपछि उनीहरू सानै उमेरबाटै रोजगारी खोज्न बाध्य भएका छन् ।
“मेरो सम्पत्ति मात्र गुमेन, छोराछोरीको भविष्य पनि प्रभावित भयो । उनीहरूको पढाइ रोकियो । यो पीडा कसले बुझ्ने ?” उहाँले भन्नुभयो ।
उहाँले आफूजस्ता धेरै परिवार मिटर ब्याजको समस्याबाट पीडित रहेको दाबी गर्नुभयो । महतोले मिटर ब्याजसम्बन्धी समस्या कुनै एक परिवारको मात्र नभएको बताउनुभयो । देशभर धेरै नागरिक यस्तै समस्याबाट प्रभावित भएको भन्दै सरकारले दीर्घकालीन समाधान खोज्नुपर्ने उहाँको माग छ ।
उहाँले ऋण कारोबारलाई पारदर्शी बनाउनुपर्ने, गैरकानुनी ब्याज असुली रोक्नुपर्ने र पीडितको उजुरी छिटो सम्बोधन गर्नुपर्ने बताउनुभयो । “ऋण लिनु अपराध होइन । तर, ऋणको नाममा मानिसको घरजग्गा र जीवन नै समाप्त पार्ने काम रोक्नुपर्छ,” उहाँले भन्नुभयो ।
धर्ना अझै जारी रहने
माइतीघर मण्डलामा धर्नामा बसेका महतो दम्पतीले सरकारले न्याय दिने विश्वास अझै कायम रहेको बताएका छन् । उनीहरू आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताउँछन् ।
“हामी वृद्ध मानिस हौँ । धेरै समयसम्म सडकमा बस्न चाहँदैनौँ । तर न्याय नपाएसम्म हाम्रो संघर्ष जारी रहन्छ,” भागनारायण महतोले भन्नुभयो ।
मिटर ब्याजको समस्या समाधानका लागि सरकारले विभिन्न पहल गर्दै आएको भए पनि पीडितहरूको गुनासो अझै कायम छ । महतो दम्पतीको ९६ दिन लामो धर्नाले पनि ऋण कारोबारमा हुने शोषण र न्याय प्राप्तिको कठिन यात्रालाई पुनः सतहमा ल्याएको छ । –नेपाल न्युज बैङ्क