सिलिचोङ पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन

23

खाँदबारी, १९ असार । जिल्ला सुरक्षा समिति सङ्खुवासभाले सिलिचोङ गाउँपालिकाका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ । अविरल वर्षापछि आएको बाढीपहिरोबाट प्रभावित सिसुवाखोलाको बिहीबार जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन गरेको हो ।

अनुगमन टोलीमा खाँदबारीस्थित नेपाली सेनाको इन्द्र दल गुल्मका सेनानी नवराज बस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनाली, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख रामअचल शाह, सशस्त्र प्रहरी प्रहरी निरीक्षक भिष्म पाण्डेलगायत सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता थियो ।

पीडित स्थानीयले आफूहरूको सुरक्षित पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालसहित जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन गरी तत्काल पुनःस्थापना, राहत व्यवस्थापन र विद्युत् सेवा पुनः सञ्चालनमा जोड दिएको छ ।

पहिरो प्रभावित सिलिचोङ–१ मा दुई विद्यालय, एक स्वास्थ्य केन्द्र र ३७ घर उच्च जोखिममा परेका सिलिचोङ गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी अर्यालको नेतृत्वमा पुगेको अनुगमन टोलीले जोखिमग्रस्त बस्ती, स्वास्थ्यचौकी, विद्यालय तथा पूर्वाधारको अवस्था निरीक्षण गर्दै तत्काल पुनःस्थापना र राहत व्यवस्थापनमा जोड दिएको छ ।

सिसुवाखोलामा आएको बाढीले दुई विद्यालयमा पनि क्षति पुर्‍याएको छ । पहिरोले विद्यालय भवन र भौतिक सामग्रीमा क्षति पुर्‍याएपछि करिब १७० विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । विद्यार्थीको पढाइ नरोकियोस् भनेर छिमेकी विद्यालयमा अस्थायी रूपमा पठनपाठन सञ्चालन गर्नेगरी समन्वय भइरहेको प्रजिअ अर्यालले जानकारी दिनुभयो ।

यसैबिच, पहिरोले बस्तीमाथिको जमिनमा ठुला चिरा परेपछि थप पहिरो खस्ने खतरा बढेको जिल्ला सुरक्षा समितिले जनाएको छ । जोखिम बढेपछि अधिकांश परिवार आफन्त तथा सुरक्षित स्थानमा बसिरहेका छन् । पहिरोका कारण तेन्छोङस्थित सामुदायिक स्वास्थ्य चौकी पनि उच्च जोखिममा पारेको छ । भवन आसपासको जमिन चिरिएकाले सेवा सञ्चालनमा समस्या आउनसक्ने प्रजिअ अर्यालले बताउनुभयो ।

त्यस्तै, बाढीले ६० किलोवाट क्षमताको सिसुवाखोला लघुजलविद्युत् र ३० किलोवाटको चटेक्मा लघुजलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि गाउँका ६०० भन्दा बढी परिवार विद्युत् सेवाबाट वञ्चित भएका छन् । अनुगमनपछि जिल्ला सुरक्षा समितिले जोखिमयुक्त बस्तीको निरन्तर निगरानी, आवश्यक राहत वितरण, विद्युत् सेवा पुनः सञ्चालन तथा सुरक्षित स्थानमा पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ ।

मौसम विभागले अझै वर्षाको सम्भावना औँल्याइरहेकाले स्थानीय प्रशासनले बाढीपहिरोको जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । बाढी तथा पहिरो प्रभावित बस्तीको तत्काल अनुगमन, सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण तथा पुनःस्थापनाका लागि कोशी प्रदेश सरकार र सङ्घीय सरकारसँग आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको सिलिचोङ गाउँपालिकाका अध्यक्ष मेवाहाङले बताउनुभयो । –रासस

Share This:
सम्बन्धित खबर
Loading...