काठमाडौँ, १७ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मङ्गलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रूपैयाँले मूल्य घटाएको छ । यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर ४० रूपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर १०० रूपैयाँ कटौती गरिएको छ ।
नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १९७ रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९५ रूपैयाँ कायम भएको छ । यसअघि यी क्षेत्रमा पेट्रोल प्रतिलिटर २१७ रूपैयाँ र डिजेल प्रतिलिटर २२५ रूपैयाँ रहेको थियो ।
यसैगरी, पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १९४ रूपैयाँ ५० पैसा र डिजेल प्रतिलिटर १९२ रूपैयाँ ५० पैसा कायम गरिएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १९६ रूपैयाँ र डिजेलको मूल्य १९४ रूपैयाँ तोकिएको छ ।
हवाई इन्धन (आन्तरिक)को नयाँ मूल्य प्रतिलिटर २२९ रूपैयाँ कायम भएको छ । यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौँका लागि अमेरिकी डलर १,५६६, पोखराका लागि डलर एक हजार १०० र भैरहवाका लागि डलर एक हजार ०८५ प्रतिकिलोलिटर कायम गरिएको छ ।
मूल्य कटौती भएसँगै उपभोक्ताले खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर (१४.२ किलोग्राम) अब दुई हजार ६० रूपैयाँमा प्राप्त गर्नेछन् । यसअघि ग्यासको मूल्य प्रतिसिलिन्डर दुई हजार १६० रूपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाव र इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यबमोजिम स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।