पाठ्यपुस्तक समयमै नपुगेको र आपूर्ति अभाव भयो भन्ने ‘भाष्य’ गलत हो : प्रवक्ता कुँवर

10
  • मनिषा बस्नेत

काठमाडौँ, ४ वैशाख । नयाँ शैक्षिक सत्र २०८३ सुरू हुने संघारमा देशभरका विद्यालय र विद्यार्थीहरू नयाँ किताबको प्रतिक्षामा छन् । यही प्रतिक्षालाई समयमै पूरा गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक बिक्री वितरणलाई तीव्र बनाएको छ ।

चैत १६ गतेदेखि सुरू भएको पाठ्यपुस्तक बिक्री वितरण अहिले सातै प्रदेशमा फैलिएको छ । केन्द्रले सातै प्रदेशमा एकसाथ पाठ्यपुस्तक बिक्री वितरण सुरू गरेको जनाएको हो ।

केन्द्रका प्रवक्ता राम बहादुर कुँवरका अनुसार हाल सातवटा प्रदेश कार्यालय, नेपालगञ्जस्थित प्रादेशिक प्रेस र केन्द्रीय कार्यालय गरी नौ स्थानबाट पाठ्यपुस्तक बिक्रीवितरण भइरहेको छ ।

“देशका सातैवटा प्रदेशमा पाठ्यपुस्तक बिक्रीवितरणको काम धमाधम सुरू गरिसकेको छ,” उहाँले भन्नुभयो, “चैत्र १६ गतेबाट बिक्रीवितरणको काम सुरू गरेका छौँ । सातवटा प्रदेश कार्यालयहरु छन्, एउटा प्रादेशिक प्रेस नेपालगन्जमा छ र केन्द्र गरी नौ वटा ठाउँबाट धमाधम बिक्रीवितरण गरिरहेका छौँ ।”

उहाँका अनुसार शैक्षिक सत्र ०८३ का लागि आवश्यक सबै पाठ्यपुस्तक छपाइ सम्पन्न भइसकेको छ भने हालसम्म करिब ५० प्रतिशत वितरण भइसकेको छ । यस वर्ष करिब १ करोड ७० लाख पाठ्यपुस्तक आवश्यक पर्ने अनुमान गरिएको छ । “छपाई कार्यपूर्ण रुपमा सकिएर बिक्रीवितरणको कामपनि आधा भइसकेको छ । एक करोड सत्तरी लाख पाठ्यपुस्तक आवश्यक रहन्छ भन्ने हाम्रो अनुमान हो,” कुवँर भन्नुहुन्छ ।

तर, किताब छाप्नु मात्र पर्याप्त हुँदैन । त्यो किताब दुर्गम गाउँको विद्यालयसम्म समयमै पुग्नु नै असली चुनौती हो । यसै रणनीतिअनुसार हुम्ला, डोल्पा, मुगुजस्ता दुर्गम जिल्लामा किताब पहिले नै पुगिसकेको छ । सुदूरपश्चिमका बाजुरा, बझाङ र दार्चुलामा पनि पुस्तक वितरण सम्पन्न भइसकेको छ ।

“हामीले हिमाली जिल्लालाई पहिलो प्राथमिकतामा राख्छौँ,’ कुवर भन्नुहुन्छ, “किनकि त्यहाँ पुग्न ढुवानी कठिन हुन्छ ।”

यस वर्ष शैक्षिक क्यालेन्डरमा परिवर्तन भएको छ । यसअघि वैशाख १ गतेदेखि सुरू हुने पठनपाठन शिक्षा मन्त्रालयको निर्णयअनुसार वैशाख १५ गतेदेखि सुरू हुने भएपछि भर्ना अभियान पनि दुई हप्ता सरेको छ । यसको प्रभाव पुस्तक बिक्रीमा परेको छ ।

बिक्रेता तथा विद्यालयहरूबाट तत्काल माग नआउँदा वितरण अपेक्षाअनुसार तीव्र हुन नसकेको प्रवक्ता कुँवरले बताउनुभयो । यद्यपि, वैशाख १५ सम्म वितरण कार्य जारी रहने र त्यसपछि क्रमशः समाप्त हुने छ ।

“१५ गतेदेखि पठनपाठन सुरू गर्ने निर्देशन छ । यसले भर्ना अभियान दुई हप्ता सरेको कारणले पाठ्यपुस्तक लिनको लागि बिक्रेताहरु पनि बिस्तारै आउने गरेको र स्कुलले पनि त्यति ताकेता नगरि राखेको अवस्थामा बिक्री वितरणको काम धमाधम भइरहेको छ तर भनेजस्तो टार्गेट पूरा भएको छैन,” उहाँले भन्नुभयो ।

जनक शिक्षाले हरेक वर्षझैँ यसवर्ष पनि हिमाली र पहाडी जिल्लालाई पहिलो प्राथमिकतामा राखेर वितरण गरेको जनाएको छ ।

उहाँका अनुसार पहाड र हिमालमा झन्डै ५० प्रतिशत विद्यार्थी भए पनि त्यहाँ ढुवानी जटिल हुन्छ । त्यसैले पहिले त्यहाँ पुस्तक पठाइन्छ । तराई र सहरी क्षेत्रमा माग बढी हुने भएकाले अन्तिम चरणमा वितरण गरिन्छ ।

“हामीले बिक्रीवितरण गर्दा सबैभन्दा पहिला हिमाली जिल्लालाई टार्गेट गर्छौँ । त्यसपछि पहाडी जिल्लालाई त्यसपछि तराई र सहर केन्द्रित हुन्छ । अन्तिममा सहरमा र तराईका जिल्लाहरुमा पाठ्यपुस्तक बिक्रीवितरण गर्छौँ,’ कुँवरले भन्नुभयो ।

सुदूरपश्चिम र कर्णालीका हिमाली तथा पहाडी जिल्लामा पाठ्यपुस्तक ढिलो पुगेको भन्ने पछिल्लो चर्चालाई प्रवक्ता कुँवरले अस्वीकार गर्नुभयो । उहाँका अनुसार देशका अधिकांश दुर्गम जिल्लामा पाठ्यपुस्तक समयमै पुगिसकेको छ र आपूर्ति अभावको ‘भाष्य’ मात्र निर्माण गरिएको हो ।

उहाँका अनुसार सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ र दार्चुला तथा कर्णालीका हुम्ला, डोल्पा र मुगुजस्ता जिल्लामा पाठ्यपुस्तक वितरण भइसकेको छ । कुँवरले ती क्षेत्रमा किताब नपुगेको होइन, तर वितरण प्रक्रियामा केही प्राविधिक र व्यवस्थापकीय समस्या देखिएको जनाउनुभयो ।

उहाँले भन्नुभयो, “पाठ्यपुस्तक नपुगेको अवस्था होइन, पुगेको छ तर केही स्थानमा समयमै नउठाइएको वा वितरण प्रक्रियामा ढिलाइ भएको हो ।” उहाँका अनुसार विगत १० वर्षदेखि केन्द्रले नियमित रूपमा समयमै पुस्तक छपाइ र वितरण गर्दै आएको छ र यसवर्ष पनि सोही अनुसार काम भइरहेको छ ।

उहाँका अनुसार देशभरका सातवटा प्रदेश कार्यालयमार्फत पाठ्यपुस्तक भण्डारण गरी वितरण प्रणाली सञ्चालन गरिएको छ । साथै, १ हजार २०७ अधिकृत विक्रेतामार्फत पुस्तक विद्यालय र स्थानीय तहसम्म पुर्‍याइने व्यवस्था रहेको छ ।

वितरण प्रक्रिया अनुसार विक्रेताहरू सम्बन्धित क्षेत्रमा दर्ता भएर केन्द्रबाट पुस्तक उठाउँछन् र ती पुस्तकहरू पालिका तथा विद्यालयसम्म पुर्‍याइन्छ । विद्यालयमा पुस्तक पुगेपछि बिल तथा भरपाइका आधारमा स्थानीय तहले भुक्तानी प्रक्रिया अघि बढाउने व्यवस्था रहेको छ । तर, केन्द्रीय प्रवक्ता कुवँरका अनुसार कतिपय स्थानमा पालिकाले समयमै बजेट विनियोजन नगर्ने तथा विक्रेताले समयमै पुस्तक नउठाउने जस्ता कारणले ढिलाइ देखिएको हो । “स्थानीय तहको बजेट व्यवस्थापन र बिक्रेताको समयमै उठान नहुँदा प्राविधिक ढिलाइ भएको मात्र हो,” उहाँले भन्नुभयो ।

यसैबिच, तराईका केही जिल्लामा भने अझै पनि केही पुस्तकहरू नउठाइएको अवस्था रहेको र केन्द्रसँग पर्याप्त मात्रामा पाठ्यपुस्तक मौज्दात रहेको पनि उहाँले बताउनुभयो ।

केन्द्रले पछिल्ला वर्षहरूमा दुर्गमदेखि सुगमसम्म पाठ्यपुस्तक आपूर्तिलाई निरन्तर र नियमित बनाउँदै आएको दाबी गर्दै आगामी दिनमा वितरण प्रणाली अझ प्रभावकारी बनाइने जनाएको छ ।

कुँवरले विभिन्न स्थानीय तहले मातृभाषामा तयार गरेका पाठ्यपुस्तक छपाइका लागि समेत सहकार्य भइरहेको बताउनुभयो । उहाँका अनुसार स्थानीय सरकारहरूले तयार पारेका मातृभाषाका पाठ्यक्रमअनुसारका पुस्तकहरू पनि छपाइ गरी वितरण गर्ने गरिएको छ ।

केन्द्रका प्रतिनिधिका अनुसार अहिले विभिन्न भाषिक समुदायका लागि आवश्यक पाठ्यपुस्तक उत्पादनमा समेत काम भइरहेको छ । “स्थानीय तहहरूले भोट, थारु, नेवार लगायतका भाषामा पाठ्यक्रम तयार गरेर छपाइका लागि ल्याउने गरेका छन्, हामीले ती सबै पुस्तक छापेर उपलब्ध गराउँदै आएका छौँ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार मुस्लिम समुदायका लागि पनि छुट्टै पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणका लागि अघिल्लो वर्षदेखि नै केही स्थानीय तहबाट अर्डर आएको र त्यसअनुसार छपाइ भइरहेको छ । स्थानीय तहले तयार पारेका पाठ्यक्रमअनुसार पुस्तक उत्पादन गर्ने व्यवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार कक्षा १ देखि १२ सम्मका सम्पूर्ण पाठ्यपुस्तक छपाइ गर्ने जिम्मेवारी केन्द्रको भए पनि केही कक्षाका पुस्तक निजी क्षेत्रलाई समेत छपाइका लागि अनुमति दिइएको छ । कक्षा १, २ र ४ का केही पाठ्यपुस्तक निजी क्षेत्रबाट पनि छपाइ भइरहेको उहाँले बताउनुभयो ।

यद्यपि, केन्द्रको आफ्नो क्षमतामा कुनै कमी नभएको दाबी गर्दै सबै तहका पुस्तक छपाइ गर्न सक्षम रहेको उहाँले जनाउनुभयो । “हामीसँग १ देखि १२ सम्मकै पाठ्यपुस्तक छाप्ने क्षमता छ,” कुँवरले स्पष्ट पार्नुभयो । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...