- मनोज अधिकारी
इलाम, २८ जेठ । फाकफोकथुम गाउँपालिका–५ लुम्देका महेन्द्र घिमिरे बिहान उठ्ने बित्तिकै कुखुराको खोरमा पुग्नुहुन्छ । खोर सफा गर्ने, दाना, पानीको व्यवस्थापन गर्ने, फ्रेस हाउसमा कुखुराको मासु तयार गर्ने र बजार पठाउने काम उहाँको दैनिकी हो ।
केही वर्षअघि वैदेशिक रोजगारीमा रहनुभएका घिमिरे अचेल आफ्नै गाउँमा सफल पोल्ट्री व्यवसायीका रूपमा परिचित हुनुहुन्छ । उहाँले सञ्चालन गर्नुभएको नवमी पोल्ट्री फार्म एन्ड फ्रेस हाउस अहिले स्थानीयस्तरमा मासु उत्पादन तथा बिक्रीको भरपर्दो केन्द्र बनेको छ ।
विक्रम संवत् २०६७ मा वैदेशिक रोजगारीका लागि विदेश पुग्नुभएका उहाँ पाँच वर्षपछि २०७१ सालमा गाउँ फर्किनुभयो । “विदेशबाट फर्किएपछि के गर्ने भन्ने अन्योल थियो । गाउँमै केही गर्ने सोच त थियो, तर कुन व्यवसाय रोज्ने भन्ने स्पष्ट योजना थिएन,” उहाँले भन्नुभयो, “अन्ततः २०७२ सालबाट कुखुरापालन व्यवसाय सुरू गर्ने निर्णय गरेँ ।”
व्यवसाय सुरू गर्दा गाउँमा नियमित विद्युत् सुविधा थिएन । उहाँले ‘सोलार प्यानल’को सहारामा चल्ला पाल्ने प्रयास गर्नुभयो । तर, आवश्यक तापक्रम कायम गर्न नसक्दा समस्या आयो । केही क्षति पनि बेहोर्नुपर्यो । त्यसपछि चल्ला हुर्काएर बिक्री गर्ने कामबाट अनुभव बटुल्दै व्यवसायलाई विस्तार गरेको उहाँ बताउनुहुन्छ ।
हाल उहाँको फार्ममा करिब २०० वटा बिक्रीका तयारी कुखुरा र २५० वटा चल्ला छन् । जिउँदो कुखुरा प्रतिकिलो ४०० रूपैयाँ र काटेको मासु प्रतिकिलो ५०० रूपैयाँमा बिक्री हुने गरेको छ । होलसेलमा प्रतिकिलो ३०० रूपैयाँसम्ममा बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । उत्पादन भएको कुखुरा मुख्यगरी पाँचथरको रवि र झापाको दमक बजारसम्म पुग्ने गरेको छ ।
“सुरुमा धेरै समस्या आए, तर हार मानिनँ,” घिमिरे भन्नुहुन्छ, “कुखुरापालनमा नगद कारोबार प्रत्यक्ष हुने भएकाले छोटो समयमै आम्दानी देख्न सकिन्छ ।” व्यवसाय विस्तारसँगै केही समस्या अझै बाँकी छन् । लुम्दे क्षेत्र सदरमुकामबाट टाढा भएकाले चल्ला ल्याउन र उत्पादन बजारसम्म पुर्याउन ढुवानीको समस्या छ । यसले लागत बढाउने गरेको घिमिरेको अनुभव छ ।
उहाँको मेहनतलाई सरकारी सहयोगले थप बल दिएको छ । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले फाकफोकथुम गाउँपालिका, अन्य दुई पालिका र दायित्व संस्थासँगको त्रिपक्षीय साझेदारीमा वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजना सञ्चालन गरिरहेको छ ।
यस परियोजनामार्फत व्यवसाय विस्तारमा महत्त्वपूर्ण सहयोग पुर्याएको छ । उक्त कार्यक्रमअन्तर्गत उहाँले व्यावसायिक योजना निर्माणसम्बन्धी तालिम, आर्थिक अनुदान तथा आवश्यक सामग्री प्राप्त गर्नुभयो । अनुदानबाट फ्रिज, खानेपानीका पाइप तथा कुखुरापालनका अन्य आवश्यक सामग्री व्यवस्थापन गर्न सकिएको छ । “कार्यक्रमले व्यवसायीहरूलाई एकापसमा भेटघाट र अनुभव आदानप्रदान गर्ने अवसर दियो,” उहाँ भन्नुहुन्छ, “व्यावसायिक योजना बनाउन सजिलो भयो । अहिले नयाँ भवन निर्माणको तयारी पनि भइरहेको छ । आर्थिक सहयोग पाएको छु ।”
घिमिरेको फार्मले परिवारका दुई सदस्यलाई प्रत्यक्ष रोजगारी दिएको छ भने खोर सरसफाइ तथा अन्य काममा स्थानीय व्यक्तिहरूले पनि अवसर पाएका छन् । वार्षिक करिब आठ लाख रूपैयाँ आम्दानी गर्ने यो व्यवसायले गाउँमै बसेर पनि आत्मनिर्भर बन्न सकिने उदाहरण दिइएको गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले बताउनुभयो । “सीमित स्रोत, यातायातको समस्या र प्रारम्भिक असफलतासँग जुध्दै उहाँले देखाएको लगनशीलताले गाउँमै उद्यम गर्न चाहने युवाका लागि प्रेरणादायी सन्देश दिएको छ,” अध्यक्ष खनालले भन्नुभयो, “उद्यम गर्न चाहने युवालाई प्रोत्साहनका कार्यक्रममा जोड्ने गरेका छौँ ।” –रासस