सिरहा, ३० चैत । नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरले जितेको छ ।
आइतबार सम्पन्न फाइनल खेलमा सहलेश युवा क्लब सिरहालाई २–१ गोलअन्तरले पराजित गर्दै उदयपुरले उपाधि हात पारेको हो । उपाधि विजेता ब्रदरहुडले नगद चार लाख ४४ हजार ४४४ रुपैयाँ र ट्रफी प्राप्त गरेको छ भने उपविजेता सहलेश युवा क्लब सिरहाले नगद दुई लाख २२ हजार २२२ रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी उदयपुरका पुजन चौधरी घोषित भए । प्रतियोगिताका सर्वोत्कृष्ट गोलरक्षक, डिफेन्डर तथा सर्वाधिक गोलकर्तालगायत खेलाडीलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
चैत २३ गतेदेखि सुरू भएको प्रतियोगितामा कोशी, मधेस र बागमती प्रदेशका प्रतिष्ठित आठ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताका लागि नगरपालिकाले २५ लाख बजेट विनियोजन गरिएको नगरप्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।