आरटी एफसी मलेसिया भरौल गोल्डकपको फाइनलमा

13

धरान, २९ चैत । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जारस्थित खेलमैदानमा जारी नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगितामा आरटी एफसी मलेसिया फाइनलमा प्रवेश गरेको छ ।

शनिबार सम्पन्न खेलमा आरटी एफसी मलेसियाले चित्लाङ फुटबल क्लब काठमाडौँलाई ट्राइबेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

खेलको पहिलो हाफको ४१औँ मिनेटमा चित्लाङ फुटबल क्लब काठमाडौँका खेलाडी मिलन पिटरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको १५औँ मिनेटमा आरटी एफसी मलेसियाका खेलाडी देवेन्द्र तामाङले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए ।

निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि थप गोल हुन नसक्दा खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । आरटी एफसी मलेसियाको तर्फबाट खेलाडी युमी, फोफोना, पेमा तामाङ र देवेन्द्र तामाङले गोल गरेका थिए भने चित्लाङ फुटबल क्लबबाट पिटर, जेन जिदे र मदन स्याङत्नले गोल गरेका थिए ।

शनिबारको खेलमा ‘म्यान अफ द म्याच’ आरटी एफसी मलेसियाका खेलाडी देवेन्द्र तामाङ घोषित भएका छन् । आयोजक क्लबका अध्यक्ष भेषराज कार्कीका अनुसार तामाङलाई नगद रु पाँच पुरस्कार प्रदान गरिएको छ ।

उपाधिका लागि भोलि पथरी–११ फुटबल क्लब मोरङ र आरटी एफसी मलेसियाबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद चार लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद दुई लाख रूपैयाँसहित ट्रफी हात पार्नेछन् ।

Share This:
सम्बन्धित खबर
Loading...