‘द्रौपदी’मा ग्रामीण भेगको कथा छ, नेपालीलाई मन पर्छ : रवि ओड [भिडिओ]

16
  • आकांक्षा धामी

काठमाडौँ, ७ चैत । नेपाल आइडल दोस्रो संस्करणका विजेता रवि ओड नायकका रुपमा ठुलो पर्दामा देखिँदै हुनुहुन्छ । यही चैत ८ गतेदेखि नेपालसहित विदेशका केही स्थानमा प्रदर्शन हुने चलचित्र ‘द्रौपदी’ मा रवि मुख्य कलाकारका रुपमा देखा पर्दै हुनुहुन्छ ।

सुदूरपश्चिम नेपालको कञ्चनपुरस्थित सामान्य परिवारमा जन्मिएर निकै कठिन र संघर्षपूर्ण सांगीतिक यात्रामा उक्लिनुभएका उहाँको अभिनय हेर्न शुभेच्छुकहरु व्यग्र प्रतिक्षामा छन् ।

तर, उहाँले अहिले नै आफूलाई नायक भन्न रुचाउनुभएको छैन । ‘म गायक हुँ र अहिले एउटा फिल्मको पात्र मात्र हुँ । नायक भन्नका लागि फिल्म सफल हुनुपर्छ र दर्शकहरुले नायकका रुपमा ग्रहण गर्नुपर्छ,’ उहाँले नेपाल न्यूज बैंकसँगको कुराकानीमा भन्नुभयो,‘गीत गाउँदै हिँडिरहेको थिएँ, राम्रो कथाको प्रस्ताव आएकाले फिल्म स्वीकारेको हुँ ।’

बाल्यकालदेखि गायनका लागेकाले गीत गाउन कठिन नहुने तर अभिनयमा भने विल्कुलै नौलो अनुभव संगालेको पनि उहाँले सुनाउनुभयो । ‘गीत आइरहेको मान्छे एक्कासी फरक सेक्टरमा आउँदा फरक अनुभव हुने रहेछ । क्यारेक्टरमा जम्न निकै समय लाग्यो । दुई घन्टाको सिनेमाका लागि ४५ दिनसम्म मेहनत गर्नुपर्‍यो । एउटा क्यारेक्टरले जिन्दगी कसरी जिइरहेको छ त्यो जर्नी देखाउन गार्हो पनि रहेछ,’ उहाँले भन्नुभयो ।

‘द्रौपदीमा मेरो पात्र कुले हो, कुले क्यारेक्टरमा बसिरहन मलाई धेरै गाह्रो भयो । द्रौपदी आफैँमा भारी शीर्षक छ । यसमा उठाइएका विषयहरु हाम्रो समाजमा रहेका देउकी प्रथा, सती प्रथा, बहुपति प्रथाको सेरोफेरो समेटिएको छ । सिनेमाको विषयवस्तु राम्रो छ । नारी सशक्तीकरणको आवाजलाई देखाउन खोजिएको छ,’ फिल्मको कथाबस्तुबारे उहाँले भन्नुभयो,‘लभ र एक्सन हेरिरहेका दर्शकहरुलाई ग्रामीण भेगको कथा समेटिएको छ । पक्कै नयाँ टेस्ट छ । द्रौपदी भन्ने महिला पात्रलाई अगाडि ल्याएर नारी शक्तिकरणको कथा बोकेको प्रभावकारी फिल्म बनेको छ ।’

गीत गाइरहेको मान्छे सिनेमा आउनु फरक विषय रहेकाले आफूले धेरै अध्ययन गरेर र तालिम लिएर मात्र अभिनयमा उत्रिएको पनि उहाँले बताउनुभयो । ‘मैले राम्रो काम गरेको छु जस्तो लागेको छ । आफ्नो कामप्रति हरेक मान्छे आशावादी हुन्छ । फिल्म अब दर्शकको हातमा गइसकेको छ । म मेरो कामबाट आशावादी छु,’ उहाँले भन्नुभयो ।

रविको विचारमा गीत संगीत र सिनेमा एक आपसका परिपुरक हुन जस्तो लागेको छ । गीत गाइरहँदा कल्पनामा आफ्नो फोटोहरु ठुलो पर्दामा हेर्न पाए कस्तो हुन्थ्यो होला भन्ने लागिरहने भएपनि द्रौपदीले त्यो पूरा गरिदिएको उहाँले सुनाउनुभयो ।

‘कल्पनामा मेरो फोटोहरु ठुलो पर्दामा रवि ओड भनेर देख्न पाइयोस् । डाइलगहरु सुन्न पाइयोस्, आफूलाई हेर्न मान्छेहरु आइदिए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । त्यो चाहना द्रौपदीको एउटा पात्रले पुरा गरेको छ । हलमा टे«लरहरु बज्दा पनि झसङ्ग हुन्छु । स्टेजमा हजारौँ मान्छेको अगाडि गाइयो, बसियो, रमाइलो गरियो तर ठुलो पर्दामा, दुईघन्टासम्म फिल्म हेरिरहेको छु । उत्साहित र खुसी छु,’ उहाँले भन्नुभयो ।

कतिपय शुभेच्छुकहरुले टे«लर र ट्रिजर हेरेर धन्यवाद पाएको सुनाउँदै उहाँले भन्नुभयो, ‘अभिनय राम्रो देखिएको छ भनेर धेरैले प्रोत्साहन गरेका छन् ।’

फिल्ममा ‘कर्णाली काटम्ला माया पिरिम सँगै साटम्ला’ गीत सुन्दा नै फिल्मको स्टोरी बुझ्न सकिने पनि उहाँले बताउनुभयो ।

आफूले धेरै संघर्ष गर्दै, लड्दै पड्दै आएकाले एक पटक हार खाँदैमा कमजोर नहुने पनि उहाँले बताउनुभयो । ‘म धेरै लडेको व्यक्ति हुँ, संगीत क्षेत्रमा पनि धेरै मेहेनत गरेको मान्छे हुँ । एकपटक हार खाएर पनि फकिएको व्यक्ति हुँ । काठमाडौँ आउनुभन्दा अगाडि गायक बन्छु भनेको असफल भएको हुँ । तर, पछि नेपाल आइडलजस्तो उच्च मन्च पाएँ । म केही गर्न सक्छु भनेर आफूलाई नियाल्ने अवसर पाए । संघर्षबाट खारिएको व्यक्ति भएकाले फिल्ममा अवश्य सफल हुन्छु,’ उहाँले भन्नुभयो ।

द्रौपदीमा आफ्नो पात्रलाई मन पराएको खण्डमा गायनसँग अन्य फिल्मको अभिनयमा केन्द्रित हुने पनि उहाँले सुनाउनुभयो । ‘कुनै पनि सिनेमामा म अगाडि जान सक्छु, आफूलाई त्यो पात्रमा ढाल्न सक्छु भन्ने हिम्मत छ । सुरुको सिनेमा गरौँ कि नगरौँ भन्ने थियो भने अहिले सक्छु भन्ने आँट छ,’ उहाँले भन्नुभयो । हाल पनि केही फिल्मको स्क्रीप्ट अध्ययन गरिरहेको उहाँले बताउनुभयो ।

हाल कलाकारिता मात्र नभइ हरेक क्षेत्रमा एक प्रकारको निराशा रहेकाले विदेशिनेक्रम बढेको उहाँले बताउनुभयो । तर, आफूले कलाकारिता क्षेत्रबाटै स्वदेशमै बसेर परिवार सम्हालिरहेको जानकारी दिनुभयो । ‘पहिला त कलेज जान सक्ने अवस्था पनि थिएन, विदेश त सोच्न पनि सकिँदैन थियो । तर, अहिले काबिल भएको छु । यही बसेर अगाडि बढ्न सकौ भन्ने इच्छा छ । भोलिका दिनमा टिक्न सकिएन भने विकल्प निस्किहाल्छ । विदेश नै पनि जानुपर्छ कि भन्न सकिँदैन,’ उहाँले भन्नुभयो ।

गीत गाउँदै हिँडेको केटो अभिनय गरेको फिल्म हेरिदिन पनि उहाँले अनुरोध गर्नुभएको छ । ऋषिराज आचार्यको निर्देशनमा बनेको फिल्म करिब डेढ महिना डोल्पामा छायांकन गरिएको हो ।

स्थानीय कला, संस्कृति, सभ्यतासँगै ठुलीभेरी, सुलीगाड, तरापखोला र जगदुल्ला नदीलाई पनि फिल्ममा देखाइएको छ । त्रिपुरासुन्दरी देवीको मन्दिरसँगै शे–फोक्सुन्डोलगायत फिल्ममा हेर्न पाइने ओडले बताउनुभयो । फिल्ममा डोल्पासँगै मनाङ, मुस्ताङ पनि समेटिएको छ । आश्विनी शाही र रविले फिल्ममा डेब्यु गर्नुभएको हो ।

फिल्मा सुजाता तिमल्सिना, कविराज भाम, प्रकाश ज्ञवाली, सीता बौडेल, विष्णु ठडराई, सुरज अधिकारीलगायत कलाकारले अभिनय गर्नुभएको छ । त्यस्तै, सौरभ शर्माले पाश्र्वसङ्गीत सिर्जना, अनिल महर्जनले सम्पादन, विजय आचार्यले कला तथा मोहन झिल्लुले छायाङ्कन गर्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...