वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा सुरू

9

काठमाडौँ, २६ फागुन । देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा सुरु भएको छ । बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा सुरु गरेको हो ।

अस्पतालका निमित्त निर्देशक डा.समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवाहरुमा दुवै सिफ्टमा अपरेशन आरम्भ गरिएको बताउनुभयो ।

यसअघि अस्पतालमा एक सिफ्टमा मात्र अपरेशन सेवा उपलब्ध भइरहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै संघीय अस्पताललाई दुवै सिफ्टमा ओपिडी सेवा आरम्भ गर्न भन्नुभएको थियो ।

सोहीअनुसार कार्ययोजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ । वीरले ओपिडी र सार्वजनिक बिदामा सेवा दिँदै आएपनि दुवै सिफ्टमा अपरेशन बल्ल सुरु गरेको हो ।

‘अहिले बढी बिरामीको चाप भएका केही सेवा दुवै सिफ्टमा सुरु भएका छन्,’ उहाँले भन्नुभयो, ‘विस्तारै बाँकी अरु सेवालाई पनि दुई सिफ्टमा लैजाने योजना छ ।’ आन्तरिक जनशक्ति र श्रोतबाटै व्यवस्थापन गरेर सेवा आरम्भ गरिएको निमित्त निर्देशक गौतमले बताउनुभयो ।

दुवै सिफ्टमा हुने अपरेशनका कारण यसअघि सेवा पाइरहेका भन्दा धेरै बिरामीले लाभ लिनसक्ने र उहाँले बताउनुभयो । डा.गौतमले निमित्त निर्देशक भएलगत्तै एक साताभित्र यस्तो सेवा आरम्भ गर्ने घोषणा गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...