काठमाडौँ, १५ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नीतिगत विषयहरुलाई पूर्णता दिनेगरी काम भइरहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौँमा २८औँ स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित समारोहमा उहाँले नीतिगत व्यवस्था गर्नुपर्ने विषयहरुका बारेमा ड्राफ्ट तयार गरिरहेको भन्दै स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्नेतर्फ लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले स्वास्थ्य सेवा ऐन पनि छिट्टै ल्याउँदै छौँ । यसको साथै अन्य ऐनहरुको पनि तयारी गर्दै छौँ । विकास समिति ऐनको तयारी भइरहेको थियो, औषधि ऐनको तयारी भइरहेको छ । गुणस्तर ऐनको तयारी भइरहेको छ । धेरै नीतिगत व्यवस्था गर्नुपर्ने विषयहरुका बारेमा ड्राफ्ट तयार गरिरहेका छौँ । नीतिगत कामहरुलाई पूर्णतातर्फ लाने कामहरु गरिरहेका छौँ ।’
यसका साथै उहाँले देशका जनशक्ति देशभित्र बस्न नचाहनु आजको सबैभन्दा ठुलो चुनौती भएको भन्दै यस क्षेत्रमा पनि अध्ययन आवश्यक रहेको बताउनुभयो ।