काठमाडौँ, २० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले अन्तर्राष्ट्रिय महिला दिवस, दिवसमा मात्र सीमित हुन नहुने बताउनुभएको छ ।
मंगलबार ललितपुरमा आयोजित स्तन क्यान्सर तथा आर्थिक तथा व्यवसायिक छलफल कार्यक्रममा उहाँले आफ्नो निर्वाचन क्षेत्रमा महिलासँग सम्बन्धित विषयहरु कानुनी साक्षरता, स्तन क्यान्सरको विषयमा जनचेतनामुलक कार्यक्रम साथै वडामार्फत् महिलाहरुका लागि विभिन्न तालिमका विषयमा छलफल गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला सप्ताह कार्यक्रमको पहिलो दिन उहाँले महिला दिवस दिवसमा नै सीमित नभइ ३६५ दिनै महिला शक्तिकरणका अभियानहरु चलाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय महिला दिवस भनेर दिवसमा मात्र सीमित हुनु हुँदैन । ३६५ दिनै महिला शक्तिकरणका अभियानहरु चलाउनुपर्छ । भ्रष्टाचार भनेर ठुला ठुला काण्डहरुमा मात्र सीमित हुने होइन वडामा पनि तालिमहरुको लागि आएको बजेटमा पनि भ्रष्टाचार भइरहेको हुन्छ । त्यहाँ नीतिगत भ्रष्टाचार भइरहेको हुन्छ । कहिलेकाही एउटा महिलाले १० वटा तालिम लिए पनि व्यवसायसँग जोड्न सकिरहेको हुँदैन । कुनैले व्यवसाय गर्न खोजेको हुन्छ तालिम पाएको हुँदैन ।’
उहाँले महिलाहरुलाई स्वरोजगार गराउने, आफ्नो लागि आएको बजेट कहाँ उपयोग भइरहेको छ त्यसको खोजी गर्न नसकिरहेको बताउनुभयो ।
डा.कार्कीले राज्यका निकायहरुले कार्यक्रम ल्याए पनि त्यो कार्यक्रम नागरिकहरुलाई थाहा नै नभएको पनि गुनासो गर्नुभयो ।
महिलाको अर्थपूर्ण सहभागिता आजको अपरिहार्यता भन्ने नारासहित स्तन क्यान्सर तथा आर्थिक तथा व्यवसायिक छलफल कार्यक्रम भएको हो । ‘स्तन क्यान्सर रोकथामका लागि जागरूक बनौँ, समयमै परीक्षण गरौँ !’ भन्ने नारासहित कार्यक्रम भएको हो ।