काठमाडौँ, २६ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो राजावादीले गरेको बृहत् प्रदर्शनले आफूहरु नडगमगाएको बताउनुभएको छ ।
सोमबार सिंहदरबारमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँगको छोटो कुराकानीमा उहाँले पत्रकारहरुले हिजोको प्रदर्शनले कत्तिको मुटु हल्लाएको थियो भन्दै प्रश्न गरेका थिए ।
उत्तरमा उहाँले भन्नुभयो,‘हिजोको प्रर्दशनले केही हल्लाको छैन । डराउनेवाला पनि छैनौँ । त्यत्रो लडाइका बीचमा त्यस्तो गर्दा त डराइएन अब त्यसको के कुरा ।’
उहाँले जनताको समस्यामा ध्यान केन्द्रित सरकारको अझै हुन नसकेको कारण जनतामा निकै ठुलो निराशाको कारण यस्तो अवस्था आएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राख्नुभयो ।
साथै उहाँले सरकार सेटिङमा आफ्ना मान्छे भर्ती गर्ने र नियुक्ति गर्नेतिर मात्रै केन्द्रित हुँदा प्रतिक्रियावादी शक्तिहरुले मौका पाएको पनि आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो,‘यसको जिम्मेवारी सरकारले लिनै पर्छ । सरकार जुन ढंगले बोल्यो जनतामा निराशा र आक्रोश छ । जनताको समस्यामा ध्यान केन्द्रित सरकारको अझै हुन सकेको छैन । सेटिङमा आफ्ना मान्छे भर्ति गर्ने नियुक्ति गर्नेतिर मात्रै केन्द्रित भएको हुनाले जनतामा निकै ठुलो निराशा छ । त्यसैले गर्दा प्रतिक्रियावादी शक्तिहरुले मौका पाएको जस्तो देखिन्छ ।’