काठमाडौँ, २६ फागुनन । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले एक दशकपछि कोही पनि वैदेशिक रोजगारीमा जानुनपर्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार काठमाडौँमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा बोल्नुहुँदै उहाँले आर्थिक वृद्धिदरलाई ६ प्रतिशतभन्दामाथि निरन्तर उकासेर देशमै रोजगारीको सिर्जना गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्था सिर्जना गर्न सकिन्छ र सक्छौँ, त्यसका केही सर्तहरू छन्, आर्थिक वृद्धिदरलाई ६ प्रतिशतभन्दामाथि निरन्तर उकास्नुपर्छ । वित्तीय स्रोत तथा साधनलाई काम र रोजगारी सिर्जनातर्फ लैजानुपर्छ । वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई श्रम बजारमा आवद्ध गर्नुपर्ने र आर्जन गरेको आय आर्जनलाई स्वदेशमै लगाउने वातावरण सिर्जना गर्नुपर्छ ।’
साथै उहाँले नेपाल विकाससिल मुलुकबाट विकसित मुलुकमा नपुग्दै अहिलेका मानिस बुढ्यौलीमै जनसंख्या पुग्ने खतरा बढेको बताउनुभयो ।
अहिले जनसांख्यिक अवसरको लाभ लिन बल गर्नुपर्ने र यस्तो अवसर लिन सकेन भने बुढ्यौलीको जनसंख्या र अर्ध विकासको अवस्थामा जोखिममा पर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कुल जनसख्यांको ६.२ प्रतिशत जनसंख्या आर्थिक रुपमा सक्रिय छन्, त्यो जनसंख्या २ करोडभन्दा बढी छ, ती जनसंख्याले विभिन्न काम गरी आर्थिक वृद्धि गरेर ३० वर्षपछि हुने बुढ्यौलीलाई पाल्ने सक्ने अर्थतन्त्र हामीले निर्माण गर्नु पर्ने हुन्छ । विकासशील मुलुकमा रहँदा रहँदै बुढ्यौलीमै जनसंख्या भएको देशमा पुग्ने खतरा छ, अरु मुलुकमा बुढ्यौली जनसंख्यामा पुग्दा देश विकसित मुलुकमा पुगिसकेको छ ।’
सोही अवसरमा ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले सम्मेलन सफलताको शुभकामना दिनुहुँदै रोजगारी अभिवृद्धिको बहस संसदमा पनि चल्नुपर्ने बताउनुभयो । ‘रोजगारी अभिवृद्धिको बहस संसदमा पनि चल्नु जरुरी छ । श्रम क्षेत्रलाई राज्यले प्राथमिकतामा राखे मात्र मुलुक समृद्ध हुनेछ,’ उहाँले अगाडि भन्नुभयो,‘राज्यले श्रमिकहरुको सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरण हुने नीति ल्याइ कार्यान्वयन गरेमात्र यस्ताखाले सम्मेलनले सार्थकता पाउनेछन् ।’