काठमाडौँ, १८ फागुन । आइतबार भएको ला लिगामा रियल मड्रिड स्तब्ध भएको छ । रियल बेटिसले रियललाई २–१ ले हराएको हो । इस्कोले आफ्नो पूर्वक्लबविरुद्ध विजयी गोल गरे ।
खेलको १०औँ मिनेटमा रियलले अग्रता लियो । किलियन एम्बाप्पेले फर्लान्ड मेन्डीलाई पास दिए र उनले ब्राहिम डियाजलाई खाली पोस्टमा सजिलै गोल गर्न अवसर मिलाइदिए ।
रियलले अग्रता दोब्बर गर्ने केही अवसर पायो । सफल भएन । तर, ३४औँ मिनेटमा इस्कोको कर्नरबाट जोनी कार्डोसोले हेडरमार्फत बराबरी गोल गरे ।
बेटिसका कप्तान इस्कोले ५४औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गरे । उक्त पेनाल्टी एन्तोनियो रुडिगरले बक्सभित्र जिसस रोड्रिगेजलाई फाउल गरेपछि बेटिसले पेनाल्टी पायो ।
यो सिजन ला लिगामा समान ५४ अंक जोडेको बार्सिलोना दोस्रो र रियल तेस्रो स्थानमा छ ।