काठमाडौँ, १७ फागुन । मछिन्द्र एफसी आयोजक केपी एफसीलाई हराउँदै जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आयोजक टोलीलाई ४–० को गोलले पराजित गर्दै मछिन्द्रले फाइनल यात्रा तय गरेको हो ।
मछिन्द्रका लागि स्टेफेन जमालाले दुई र मनिष डाँगी, रोशन रानाले एकएक गोल गरे । खेलको ३८औँ मिनेटमा मछिन्द्रका मनिषले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । ४९औँ मिनेटमा रोशनले गोल गर्दै मछिन्द्रको अग्रतालाई दोब्बर बनाए । खेलको ८६औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै मछिन्द्रका स्टेफेनले टोलीलाई तेब्बर अग्रतामा पुर्याए । पुनः ९०औँ मिनेटमा स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ४–० मा पुर्याए ।
अब मछिन्द्रले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्ने छ । आर्मीले पहिलो सेमिफाइनलमा संकटा क्लबलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । फाइनल खेल सोमबार हुने छ ।
प्रतियोगिताको विजेता हुने टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने छन् । फाइनल खेल अवलोकन गर्न इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन नेपाल आउने छन् ।