नेपालका मेला–महोत्सवमा ठेकेदारी प्रथा छ, कलाकारको अपमान गरिन्छ : प्रकाश कटुवाल [भिडिओ]

12
  • आकांक्षा धामी

प्रकाश कटुवाल चर्चित लोकदोहोरी गायक हुनुहुन्छ । रामेछापमा जन्मिएर काठमाडौँमा संघर्ष गरिरहनुभएका उहाँ राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष समेत हुनुहुन्छ । दर्जनौँ चर्चित गीत गाउनुभएका कटुवाल रोधीघरका सञ्चालक समेत हुनुहुन्छ । नेपाली गीत संगीत, रोधी र दोहोरी घरहरुको अवस्था, कलाकारहरुप्रति समाजले हेर्ने दृष्टिकोण साथै सरकारले गर्नुपर्ने कामहरुका विषयमा नेपाल न्यूज बैंकले उनीसँग कुराकानी गरेको छ ।

पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?
संगीतसँगै व्यापार क्षेत्रमा सक्रिय छु । लामो समयदेखि संगीतमै सक्रिय भए पनि जीवन धान्नै कठिन भएपछि व्यापारतिर हात हालेको हुँ । काठमाडौँको ठमेलमा रोधी घर सञ्चालनमा ल्याएको छु । साथै अन्य व्यापारमा पनि समय दिने गर्छु । अहिले संगीत भन्दापनि बढी विजनेसतिर व्यस्त छु ।

कति समय संगीतमा विताएर व्यापारतिर लाग्नुभयो र किन व्यापार रोज्नुभयो ?
संगीतमा लागेको करिब २२ वर्ष भयो । होला, दशौँ हजारमा एक दुईसय जनालाई बाँच्न सजिलो होला तर सबैलाई संगीत व्यावसाय सोचेजस्तो छैन । हुन त म संगीतबाटै यहाँसम्म आएको हुँ । तर, संगीतमा सदाबहार लागिरहने र संगीतमै जिन्दगी बिताउने कल्पनाको मनस्थिति चाहिँ गुमिसकेको छ । हालको अवस्थालाई हेर्ने हो भने अडियो क्यासेटको जमनाबाट सिआरबिटी, पिआरबिटी हुँदाहुँदै युट्युब जमनासम्म आइपुगेका छौँ । र अहिले लगानी गरेर संगीतमा कुनै पनि फलदायी जीवन जिउन सक्ने र संगीतबाट आफ्नो लगानी फिर्ता लिने कुनै त्यस्तो मापदण्ड छैन । सयौँ गीतमा एउटा गीतले दर्जा पाउला र त्यहीँ एउटा गीतले राम्रो रकम उठाउला, तीमध्ये ९९ गीतहरुले फ्लप हुने अवस्था भइसकेको छ । अहिले संगीतमा कमाएको पैसा ह्वात्तै बालुवामा पानी हालेजस्तो अवस्था भएकाले लगानी गर्न धेरैले छाडेका छन् । त्यसैले मैले पनि संगीतमा लगानी गर्न छाडेको छु ।

संगीतमा आउनेहरु सबैले लगानी गरेर मात्र आउँछन् या कुनै अवसरहरु पाएर ?
सुरु सुरुमा त सबैले लगानी नै गरेर आएको देखिन्छ । कसैले राम्रो गीत गाउँछ भने उसलाई सित्तैमा गीत रेकर्ड गराइदिँदैनन् । एउटा अडियो मात्रै रेकर्ड गर्न ५० हजार रुपैयाँ खर्च हुन्छ । सोही गीतमा भिडिओ निर्माण गर्नुपर्दा सामान्यत तीनदेखि सात लाखसम्म खर्च हुन्छ । त्यहीँँ भएर सुरु सुरुमा लगानी चाहिँ धेरैले आफैँले गर्नुहुन्छ । चर्चित हुनका लागि, गीत संगीत बजारमा ल्याउनका लागि पहिला आफैँले लगानी गरेर आएका छन् । कोही साथीहरु जसको राम्रो आवाज छ भने उनीहरु बिकेका पनि छन् । तर, सुरु सुरुमा आफूले लगानी नगरिकन यो क्षेत्रमा आउन त्यति सजिलो छैन ।

तपाईं कसरी संगीत क्षेत्रमा प्रवेश गर्नुभयो ?
काठमाडौँ प्रवेश गरेको २२ वर्ष नै भयो । गाउने रस सानैदेखिको थियो । काठमाडौँ प्रवेश गरेपछि सबैजसो कलाकारहरुसँग संगत हुँदै गयो । बढ्दो भेटघाटले गर्दा मैले गीत गाउने स्टुडियो पनि चिन्दै गएँ । विस्तारै संगीतबाटै केही गर्न सकिन्छ कि भन्ने जोश जाँगरले नै संगीतको यात्रा सुरु गरेँ । म २०६० सालमा रोधि साँझबाट गीत गाउन सुरु गरेको हुँ ।

तपाईंको पहिलो गीत कुन थियो ?
मेरो पहिलो गीत ‘मिलनको पल पल’ भन्ने थियो । तर, त्यो बेला नयाँ कलाकारको भोकल कम्पनीले लिँदैन थियो । त्यसबेला राजु परियार भर्खर मात्रै बजारमा आउनुभएको थियो । उहाँको आवाज नै हालेर गीत रेकर्ड गराइयो । गीत मेरो र विनोद ढकालको लगानीमा रेकर्ड गरिएको थियो । जुन गीत २० वर्ष पुरानो हो । जसको ६०–७० हजार अडियो चाहिँ बेचियो । त्यो समय क्यासेटको थियो । त्यसपछि २०६३ देखि म निरन्तर गीत गाउँदै आए । लगभग २० देखि ३० वटा गीत अत्यन्तै चले पनि । जुनमा ‘चोरी खान पल्केको ढाँडे बिरालो, फूल फूल्यो केशरी, छेकेन जामाले, यो रक्सीको गन्ध, रातो सारी सप्पकै’ आदि हुन् । यसैगरी आधुनिक गीत ‘भुल्दिन तिमीलाई’ लगायत धेरै गीतहरु चल्न सफल भए ।

तपाईं रोधीघर सञ्चालन गरिरहनुभएको छ । यसमा कस्ता कलाकारहरुले अवसर पाउँछन् ?
यसमा विशेषगरी ८० प्रतिशत दोहोरी गाउने कलाकारहरुले अवसर पाउँछन् । अन्य २० प्रतिशतले पनि अवसर पाउने गरेका छन् । रोधी साँझमा पप गीतहरु पनि बज्छन् । फिल्म गीतहरु पनि बज्छन् । सबै गीतहरु प्रायः बजिरहेका हुन्छन् । ठमेल पर्यटक भित्रिने स्थान भएकाले पनि मेरो रोधी साँझमा हिन्दी गीतहरु समेतले प्राथमिकता पाइरहेका हुन्छन् ।

हाम्रो समाजमा रोधी साँझलाई नकारात्मक दृष्टिकोणले हेरिन्छ । यसमा तपाईंको भनाइ के छ ?
ढुंगेयुगको बेला रोधी साँझलाई नराम्रो नै भनिथ्यो । तर, अहिले दोहोरी धेरैले बुझेका छन् । दोहोरीभित्रै गएर देखेका छन् । त्यस्ता मान्छेहरुले दोहोरी साँझलाई सकारात्मक रुपमै बुझेका छन् । रोधी साँझमा त्यस्तो अनावश्यक दुःख दिने, छोरीचेलीलाई हातपात गर्ने, छुने, समाउने चाहिँ हुँदैन ।

रोधी साँझ चलाउन कतिको सहज छ ?
दिन बिग्रेको बेला समस्या सबैलाई पर्छ । तर, कहिलेकाहीँ समस्या नै हाम्रो सफल हुने बाटो पनि हो । व्यवसायलाई राम्रो ढंगले चलाउन सकेनौँ भने सिस्टममा ल्याउन सकेनौँ भने, म्यानेजमेन्ट राम्रो गर्न सकिएन भने व्यवसाय पनि चल्दैन । तर, म पनि आफैँ दोहोरी साझको विषयमा पोक्त अनुभवी हुँ । त्यस हिसाबले पनि रोधी व्यवसाय कमजोर भएको, घाटा खाएको, दुःख पाएको अहिलेसम्म छैन । मेरो व्यवसाय पक्कै पनि राम्रो छ । र राम्रोसँग चलाउन सकेको छु । तर, व्यापारमा ठ्याक्कै यति कमाइ भन्ने हुँदैन । समग्रमा तीन करोड लगानीमा व्यवसाय सञ्चालन गरेका हौँ । मेरो आफ्नो व्यवसायमा लगानी अनुसारको प्रतिफल पाएको छु । र दुःख गरे अनुसारको दुईचार लाख कमाउन त्यति गाह्रो हुँदैन ।

संगीत करियरमा आएका कुनै चुनौतीहरु स्मरणमा छन् वा संगीतका चुनौतीहरु के हुन् ?
चुनौती त धेरै नै हुन्छ । संगीतमा लाग्दैगर्दा कसरी चल्ने भन्ने कुरा निकै चुनौती हुन्छ । चलिसकेपछि आफ्नो करियर कसरी बसाल्ने झनै चुनौती हुन्छ । विदेशको यात्रा गर्दैगर्दा पनि धेरै चुनौती हुन्छ । झन् पहिलोचोटी यात्रा गर्नेलाई त धेरै गाह्रो हुन्छ । पहिलोचोटी गीत रेकर्ड गर्दैगर्दा पनि मैले निकै चुनौतीहरु भोगेको थिए । स्टुडियो पत्ता लगाउन नै मलाई त एक महिना लागेको थियो । पहिला अहिलेजस्तो गाडी चढ्ने, कुदिहाल्ने अवस्था पनि थिएन । कमै मात्र गाडी गुड्ने भएकाले हामी हिँड्दै हिँड्दै पैदल गर्ने गर्दथ्यौँ । भनेजस्तो खर्च पनि हुँदैनथ्यो । तर, संगीतमा नै यात्रा गर्दैगर्दा १८ महिना जेल बसेको छु । पोखरा कार्यक्रममा जाँदा बीचमा एउटा घटना घटेर १८ महिना जेल बसेको छु । त्यो मेरो जीवनको एकदमै अविश्मरणीय क्षण त्यो पनि हो । आफ्नो संगीत व्यवसायमा फर्केको छु । अबको जीवन पक्कै पनि राम्रो हुनेछ ।

अब संगीत वा व्यापार के रोज्नुहुन्छ ?
संगीत त मेरो मुटु धड्कन नै हो । संगीत बिना त म मात्र होइन धेरै मानिस बाँच्न सक्दैनन् । जसले जति मुखले बोलेपनि दुःखसुख जस्तो अवस्थामा पनि संगीत चाहिन्छ । संगीतबिना अरु केही सोच्नै सक्दिनँ । तर, व्यवसाय मेरो लागि आवश्यक्ता हो । संगीत र सम्पत्ति के रोज्छस् भन्यो भने मेरा लागि संगीत नै हो ।

नेपालमा चलेका कलाकारहरु विदेशिएको पाइन्छ । खास के कारणले होला ?
जन्मदा पहिला आवाज नआउला, आवाज आएपछि लड्ला वा ठोक्किएला भन्दै संगीतमा लागिन्छ । अनि विस्तारै विवाह होला बालबच्चा होलान्, परिवार पाल्न र खुसी राख्ने रहर होला । विस्तारै आवश्यक्ताहरु बढ्दै जान्छन् अनि पूरा गर्न नसकेपछि विदेश जाने गर्छन् । नेपालमा भनेजस्तो रोजगार छैन । जुनसुकै जागिर खाएपनि बढिमा २५ देखि ३० हजारको तलब छ । त्यसले आफ्नो जिन्दगी राम्रोसँग चल्न सक्छ होला तर परिवार पाल्न सकिँदैन । त्यसका लागि पनि आफ्नो परिवार खुसी राख्नपनि देश छाड्नुपर्ने बाध्यता सबै नेपालीको छ । कलाकार मात्र होइन देशमा हुर्किसकेपछि सबैजसो युवा साथीहरुले देश लहरमा छन् ।

हरेक क्षेत्रमा राज्यले के गर्न आवश्यक छ ?
नेपाल भन्नेबित्तिकै गर्व गर्न लायकको देश हो । यो देशमा जन्मनु, स्वतन्त्रसँग बाँच्न पाउनु एकदम गर्व गर्नुपर्छ । तर, राज्यले रोजगारीको मूल फुटाउन सकेको छैन । तीन कारोड जनतामा अहिलेपनि हिसाब हेर्दा ८० लाख जनता नेपालभन्दा बाहिर छन् । तिनै जनताले कमाएर पठाएको रेमिटेन्सले देश धानिएको छ । देश आफैँमा गरिब छ । पछिल्लो समय सुस्त मनस्थितिले देश विकास चाहिँ भएको छ । राज्यले केही गर्न नसकेपनि एउटा सिस्टम चाहिँ बसाउनुपर्छ ।

दोहोरीमा अहिले छाडा प्रवृत्ति बढ्यो भन्ने गुनासो छ नि ?
छाडा प्रवृत्ति त आजभन्दा ५० वर्ष अगाडि पनि थियो । पहिला अलि फरक ढंगको थियो अहिले अलि फरक ढंगको छ । हिजो ढुङ्गेयुग थियो आज कम्प्युटरको युगमा छौँ । समय त त्यसै नै परिवर्तन भइहाल्छ । हिजोको जस्तो गीत आज बजारमा सुन्न पाइँदैन । हिजो बाबाले लगाउने दौरा सुरुवालको जमाना गइसक्यो अहिले । महँगा महँगा कोट पाइन्ट र नयाँ फेसनका कपडाहरु आइसकेका छन् । त्यसपछि हिजो ढिडो खाने चलनबाट अहिले मासको दाल, रातो दाल विभिन्न चौरासी ब्यन्जन खाने अवस्थामा आइसकेका छौँ । त्यसकारण समय परिवर्तन त भएको छ र गीत संगीतको मापदण्ड र बजार पनि परिवर्तन भएको छ । त्यसकारण पहिला पहिला गाउने गीत र अहिले गाउने गीतमा फरक छ । हिजो डाँडामा बसेर चार जनाले रुमाल हल्लाए पनि भिडिओ बन्थ्यो, अहिले चार सयजना राखेर नाच्नुपर्ने अवस्था छ । त्यो के का लागि भन्दा बजारमा प्रतिस्पर्धा गर्नुपर्‍यो, चल्नपर्‍यो । हिजो १० रुपैयाँको व्यापार गरिन्थ्यो भने आज २० रुपैयाँको बढी गर्नुपर्‍यो । बजारको मापदण्ड फराकिलो हुँदै जाँदा र समय परिवर्तन हुँदै जाँदा हामी पनि त्यही सँगै बगेका हौँ र त्यसकारण संगीत पनि फरक हुँदै आएको हो ।

राम्रा आवाज भएकाहरुले अवसर नपाएको गुनासो पनि सुनिन्छ नि बजारमा ?
यसमा न तपाईंको दोष न, मेरो दोष । जसले संगीत सुनेर कलाकार बनाइदिनुभएको छ दोष उहाँहरुको हो । स्वर भए पनि नभएपनि गीत मन पराइदिनुभयो नि त । उत्कृष्ट स्वर हुँदैमा कलाकार हुने, सामान्य स्वर हुने बित्तिकै कलाकार नहुने, राम्रो स्वर भएको मान्छेलाई मात्र कलाकार भन्ने भनेर इतिहास बनाउनु हुँदैन । राम्रा स्वर भएका साथीहरुको मेहनत गरेको खण्डमा र कतिपय कुराहरु भाग्यमै लेखेर ल्याउनुपर्छ । दुःख पाउने, सुख पाउने सबै नसिबको कुरा हो । नसिबसँग लड्दै जाने क्रममा सामान्य कलाकार चर्चित भयो होला, राम्रो स्वर भएको मान्छे पछाडि पर्‍यो होला, लगानी गर्न सक्ने अगाडि आयो होला । लगानी गर्न नसक्ने पछाडि गर्‍यो होला । पृथ्वी गोलो छ कोही चाँडो आयो होला कोही ढिला आउँछ । फरक त्यतिमात्र हो । राम्रो प्रतिभा भएको मान्छे कुनै न कुनै समय अगाडि आउन सक्छ । त्यस्ता कलाकारको लागि ठाउँ छ । भ्वाइस अफ नेपाल, नेपाल आइडल जस्ता प्लेटफर्महरु छन् । त्यस्ता ठाउँमा लगानी लाग्दैन । आफूसँग भएको प्रतिभा देखाउने हो । त्यो प्रतिभा जनताले मन पराइ दिए भने अगाडि बढ्न सकिन्छ । सफल हुनका लागि दुःख त गर्नैपर्छ । हामी पनि गाउँ पाखा बेचेर कलाकार भएको हो । काठमाडौँ आउँदै गर्दा एउटा जुत्ता लगाउन सक्ने हैसियत थिएन । आज व्यवसायमार्फत स्थापित भएको छ । आफूभन्दा ठुला व्यक्तिहरुसँग सल्लाह लिनपर्‍यो । मेरोपनि ५० देखि सयवटा गीतहरु अरुले लगानी गरेका छन् । आफैँले राम्रो सिर्जना गर्न सक्नुपर्‍यो । घरमा सुतेको भरमा कसैले उठाएर लादैन ।

नेपालमा यतिबेला संगीतकर्मीको अवस्था कस्तो छ ?
संगीतकर्मीको अवस्था आज मात्र होइन, हिजोदेखि आजसम्म हेर्ने हो भने समग्रमा राम्रो छ । यसमा मात्र आयस्रोत भएन भन्ने मात्र हो । लगानी गरेका गीतहरु फ्रिमा सबैले सुनिरहनुभएको छ । त्यसकारण संगीतको बजारमा व्यापार हुने एउटा मापदण्ड बनाउन नसक्नु नै दुर्भाग्य हो । मापदण्ड बन्थ्यो भने संगीतको व्यापार राम्रो छ, संगीतबाट बाँच्न सक्छौँ ।

तपाईंको कुनै नयाँ गीत आउँदैछ ?
मैले पहिलाको जस्तो गीत निकालेको छैन । अहिले पुराना गीतहरु अपलोड गरिरहेको छु । अबको एक महिनाभित्र एउटा, दुईवटा नयाँ गीत रिलिज हुन्छ । तत्कालको लागि नयाँ गीत भने ल्याएको छैन ।

मेला महोत्सवमा कतिको व्यस्त हुनुहुन्छ ?
पहिला पहिला धेरै नै हिँडेको हुँ । ५०–६० वटा जिल्लामा पुगेर महोत्सवमा खुबै नचाइयो । तर, मलाई विदेशका कार्यक्रमहरु राम्रो लाग्छ । विदेशमा गएर कार्यक्रम पनि गरेको छु । अमेरिकाबाहेक अन्य देशहरुमा संगीतका कार्यक्रम हुने धेरै जसो ठाँउमा पुगेको छु । नेपालको महोत्सवहरु अहिले ठेक्का जस्तो हुने भएको हुनाले मन पर्दैन । अहिलेका महोत्सवहरु सबै ठेकेदारहरुले गर्ने, उसलाई मन परेको कलाकार ल्याउने, खाए पनि नखाए पनि घिच भनेको जस्तो गर्ने गरेको पाइन्छ । पहिला पनि त्यहीँ कलाकार, अहिले पनि त्यहीँ, अर्को साल पनि त्यहीँ कलाकारलाई अवसर दिने परिपाटीको विकास भएको छ । त्यसैले विकृतिजन्य ठाउँमा गएर गीत गाइहालौँ, नाची हालौँ भनेर आत्मैबाट जोश छैन । तर विदेशमा त्यस्तो छैन, सम्मान छ । सत्कार गर्नुहुन्छ । फर्किने बेला बिदाई गर्नुहुन्छ, सम्मान गर्नुहुन्छ ।

नेपाली महोत्सव आयोजकहरुले विदेशी आयोजकहरुसँग सिक्नुपर्ने केही छ ?
सिक्न जरुरी त हो तर जे कुरामा पनि ठेकेदारी शैली छ । उनीहरु दलाल जस्तो भएका छन् । तपाईंलाई २० हजारमा लिएर आयोजकहरुसँग ३० हजार लिने काम गर्छन् । यस्तो व्यवसाय गरेर बाँच्न राम्रो होइन । कलाकारको नाममा पारिश्रमिक लुटेर खाए नि त । यस्तै प्रवृत्तिले ठिक भएन । इज्जत हुन्छ, प्रतिष्ठा गुम्दैन भने फ्रि मा जाने रमाइलो गर्ने, मजाले नाचेर, गाएर आउने तर आयोजकलाई खुसी बनाउन कार्यक्रममा जाने चलन धेरै कलाकारहरुले छाडेका छन् । मेला महोत्सव भनेको ठेक्दारलाई दिनु हुँदैन । त्यो उद्योग व्यवसायहरु, संघहरु छन् उहाँहरुले गर्ने काम हो । स्थानीय कलाकारहरुलाई पनि मौका दिनुपर्छ ।

तपाईंको दृष्टिमा संगीतले हाम्रो संस्कृति र समाजमा के महत्त्व राख्दछ ?
संगीतले त देश नै परिवर्तन गर्छ । आमूल परिवर्तन गर्ने नै संगीतले हो । रोइरहेको मान्छेलाई हसाउँछ, हाँसेको मान्छेलाई रुवाउँछ । सरकार नै ढालेका पनि छन् गीतले । गलत बाटोमा हिँडेको मान्छेलाई सही ठाउँमा ल्याउन सक्छ । संगीत भनेको मान्छेको जीवनमा नभइ नहुने कुरा हो । संगीत बाच्नै सक्दिन भन्ने खालको विषय होइन । संगीतले आमूल परिवर्तन र देश नै परिवर्तन गर्न सक्छ ।

Share This:
सम्बन्धित खबर
Loading...