स्वस्थानीका बारेमा बुझेर मात्र व्रत बस्दा राम्रो हुन्छ : पण्डित न्यौपाने [भिडिओ]

15
  • आकांक्षा धामी

काठमाडौँ, १ माघ । नेपाल ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपानेले एक महिनासम्म लाग्ने स्वस्थानी व्रतका बारेमा सबै सनातन हिन्दुहरुले अझै राम्रोसँग बुझ्न नसकेको बताउनुभएको छ । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उपाध्यक्ष न्यौपानेले सबैभन्दा पहिला स्वस्थानी भनेको के हो भनेर बुझ्न जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबैभन्दा पहिला त स्वस्थानी के हो त्यो बुझ्न एकदमै जरुरी छ । आजको समयमा सबै व्रत लिने सबै नेपालीले स्वस्थानी के हो भनेर बुझेको अवस्था छैन । हामी सबैले बुझाउन आवश्यक छ । स्वस्थानीको ‘स्व’भनेको ‘म, मेरो’ र थानी भने ‘आफ्नो’,‘मेरो’आफ्नै देवता भन्ने बुझिन्छ । नेपालीहरुको इष्टदेवता भनेको स्वस्थानी हो ।’

यसैगरी स्वस्थानी व्रत नेपालमा मात्रै हुने गरेको उहाँ बताउनुहुन्छ । ‘स्वस्थानी व्रत आफ्नो स्थानीय देवता भएकाले नेपालीको लागि धेरै नै महत्त्वपूर्ण ब्रत भएको बताउनुभयो । यो व्रत पौष शुक्लपक्ष पूर्णिमाको दिनदेखि यसको तीथि निर्धारण हुन्छ । पूर्णिमाको दिन शुद्ध बसेर, नङ काटेर, नुवाइधुवाई गरेर माघ कृष्णपक्षको प्रतिपदाबाट व्रत शुभारम्भ गर्ने गरिन्छ । र माघ शुक्ल पक्षको पूर्णिमाको दिन स्वस्थानी व्रत समापन हुन्छ,’ उहाँले भन्नुभयो ।

यसैगरी उहाँले स्वस्थानी व्रतमा पूजा गर्ने विधि सबैभन्दा सहज रहेको बताउनुभयो । उहाँले स्वस्थानी व्रत एक जनाले बालुवाको शिव लिङ्ग बनाएर जल चढाएर पूजा गरेको इतिहासमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी पूजा गर्ने भन्छौँ तर तडकभडकका साथ गरिरहेको हुन्छौँ । सबै देखावटी गर्नु हुँदैन । पूजा भनेको मन र परमआत्माको संयोग गराउने एउटा माध्यम हो । तपस्या गरेर व्रत गर्‍यो भने भगवानले दृष्टि राख्नुहुन्छ । पूजा भनेको भगवान र भक्तको सामिप्यता बढाउने, एकआपसमा ध्यान केन्द्रित गराउने माध्यम मात्र पूजा हो । पूजामा धेरै खर्च गरेर खर्चिलो र देखावटी नबनाऔँ ।’

साथै उहाँले स्वस्थानी पूजा सबैभन्दा सरल रहेको स्पष्ट पार्नुभयो । उहाँले स्वस्थानी व्रतमा शिव लिङ्गमा जल चढाएर, खेतबारीमा फलेको फलफूल र चन्दन अर्थात् जे छ हामीसँग त्यसलाई नै प्रयोग गरेर व्रतमा पूजा गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मन कत्तिको शुद्धता छ भन्ने कुरा सबैभन्दा ठुलो हो । स्नान गरेर आफू चोखो भएँ भन्ने हुँदैन । तर, मन चोखो र शुद्ध आशनमा बसेर व्रत शुभारम्भ गर्न सकिन्छ ।’

‘व्रत ३० दिनको हो । कहिलेकाँही घडबढ भयो भने २९ र ३१ दिनसम्म पनि जान सक्छ । यो व्रत महिला–पुरुषले नै बस्न मिल्छ,’ उहाँले भन्नुभयो ।

‘महिला र पुरुषको व्रतमा पूजा गर्ने विधि पनि एउटै हुन्छ । इतिहासको कालखण्डमा एकजना महिलालाई पात्र बनाएर कथा भनिएको छ । जसमा चन्द्रवतिको नाम कथामा समेटिएको छ । पूजा सबैले गर्दा हुन्छ । इष्ट देवता हामी सबैको हो । यसैगरी स्वस्थानी व्रतको सुरुवात र अन्तिममा पनि चाहिने सामग्री सबै एउटै हुन्छ । पञ्चामृत, अमृत, फलफूल आदि इत्यादि । अन्तिम दिन १०८ सेल, १०८ सुपारी, १०८ पान, १०८ अक्षता फूल स्वस्थानी व्रतको विधिमा चाहिन्छ,’ उहाँले भन्नुभयो ।

‘सेल पनि साना–साना बनाएर, गरिब दुःखीले धेरै गर्न नसक्ला नि त । ठुलो देखाउने हिसाबमा होइन । सानो सानो भएपनि विधि गरेको राम्रो नै हुन्छ,’ उहाँले अगाडि भन्नुभयो,‘नुहाएर मात्र शुद्धता हुने होइन, मनको शुद्धता हुनुपर्छ । मनको मैलालाई पखाल्न सक्नुपर्‍यो । व््रत बस्ने व्यक्तिले रिस गर्नु हुँदैन, रिसाउनु हुँदैन । क्रोध आयो भने त्यो व्रत नै समापन हुन्छ । सबैसँग सद्भाव राख्नुपर्छ । शत्रुलाई पनि मित्र हो भन्ने भावना राख्नुपर्छ र प्रसन्न आत्मा, प्रसन्न मन लिएर व्रत बस्नुपर्छ ।’

नेपालमा स्वस्थानी व्रत महत्त्व धेरै रहेको उहाँले बताउनुभयो । ‘नेपालमा यसको महत्व अझ बढी छ । पहिलो देखिनै स्वस्थानीको भूमि नेपाल भएकाले यहाँ ब्रम्ह, शिव, त्यसपछि चार वेद, १८ पुराणको उत्पत्ति भयो । अनि मावन सभ्यताको उत्पत्ति भयो । ज्ञानको उत्पत्ति यहीबाट भयो । वेद पुराण नै यहीबाट उत्पत्ति भएको हो ।

त्यसकारण हिमालयकी पुत्री सति र पार्वतीले भगवान शिवलाई पति पाउँ भनेर प्रार्थना गरेको पाइन्छ । कथा एकदमै पुरानो भएकाले त्यसबेलादेखि इष्ट देवता मानेर नेपालीले स्वस्थानी व्रतको आरम्भ गरेको देखिन्छ । किनभने व्रत कथामा इतिहास र सृष्टिका कुरा पनि आएका छन् । सृष्टि गर्ने क्रममा हिमालयबाट सुरु भएको र विश्व ब्रम्हण्डमा फैलाएको भनेर जानकारी गराउनका लागि सृष्टिको कालखण्डको पनि कुरा गरिएको उहाँले जानकारी दिनुभयो ।

व्रतमा शालिनदीको कथा आउँछ । नेपाल वरिपरिको कथा आउँछ । स्वस्थानी व्रत कथामा नेपालबाहेक अरु कतैको कथा छैन । त्यसकारण यसलाई पौराणिक र एतिहासिक भन्न कुनै लाज मान्नुपर्ने अवस्था नभएको न्यौपानेको भनाइ छ ।

‘यो व्रतमा भोको बस्नु पर्दैन । संसारमा कतै पनि भोकै बस भनेको छैन । नखाने कुरा कहिले पनि खानु हुँदैन । शरीरलाई असर गर्ने कुरा खानु हुँदैन । स्वास्थ्यलाई नकारात्मक प्रभाव पार्ने कुरा कहिल्यै पनि खानु हुँदैन । फलफूल, दूधहरु कहिले पनि खान छोड्नु हुँदैन,’ उहाँको भनाइ छ ।

व्रत बस्नेले भोजन एकपटक मात्र गरेको राम्रो हुन्छ । किनकी ध्यान नछुटोस् भनेर हो धेरै खाएपछि शौचालय पनि धेरै जानुपर्ने भएकाले ध्यान भंग हुने भएकाले यस्तो भनिएको उहाँको बुझाइ छ ।

हिन्दु धर्ममा भएका धार्मिक कुराहरुले फाइदा गर्ने गरेको उहाँको बुझाइ छ । ‘जति पनि हाम्रा धार्मिक कुराहरु छन् । त्यसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लाभ प्राप्त भएको हुन्छ । त्यो अनुभव गर्ने कुरा हो । एक महिनाभर नराम्रो विचार आएन, नराम्रो खाएको छैन भने म आफैँ सकरात्मकतातर्फ जान्छ । व्रत बस्ने व्यक्तिले झुठ बोल्दैन, चोरी गर्दैन, समाजमा गर्न हुने राम्रा कुराहरु मात्र उसले सोच राख्छ भने समाज सुधार हुन्छ । व्रतले शारीरिक र मानसिक रुपमा स्वस्थ्य राख्न मद्धत गर्छ,’ न्यौपानेले भन्नुभयो ।

‘स्वस्थानी व्रत बसेका बेला परिवार र समाज बिगार्ने सोचियो भने असर गर्छ । विशेषगरी ब्रह्मचार्यमा रहनुपर्छ । ब्रह्मचार्य भनेको शारीरिक सम्पर्क गर्न हुँदैन । अरुलाई अर्थात् व्रत नलिने मान्छेलाई स्पर्श पनि गर्न हुँदैन । भुइँमा सुत्नुपर्छ । खाटमा सुत्न हुँदैन । आसनीमा सुत्नुपर्छ । पातमा भोजन गर्नुपर्ने हुन्छ । खानेकुरमा एकदमै शुद्धता चाहिन्छ । त्योभन्दा बढी मनको शुद्धता झनै चाहिन्छ । चारतिर दिमाग लगायो भने व्रत असफल हुन्छ,’ उहाँको सुझाव छ ।

स्वस्थानीको पुस्तकको सन्देश आफ्नो स्थानीय देवतालाई खुसी पार्ने नै भएको उहाँले बताउनुभयो । अहिलेको पुस्ताहरु कतिपय सनातनी नियममा नबस्ने, आफ्नो धर्म छाडेर आफ्नो आमा बाउलाई ढोग्न छाडेर अन्त्य ढेग्न पुग्नु नराम्रो भएको उहाँले बताउनुभयो ।

‘आफ्नो इष्ट देवता भनेकै स्वस्थानी र परमेश्वर हुन् । त्यहाँभन्दा माथि अरु कोही पनि छैन । त्योभन्दा माथि संसारमा अरु कुनै ईश्वर छैन । स्वस्थानी परमेश्वरी ब्रत कथा र आफुले लिन सकिएन भने पनि स्वस्थानी व्रत लिएको मान्छेको दर्शन गरेपनि पुण्य प्राप्त हुन्छ प्रचलन छ । मेला रमिताको हिसाबले गएर हुने केही होइन । तर, वास्तविक श्रद्धाभावले एक दिनमा ब्रत बसेपनि पुण्य प्राप्त हुन्छ,’ उहाँले भन्नुभयो । स्वस्थानीको व्रत बस्न सबैले मिल्ने उहाँले बताउनुभयो । भगवान भनेको हिन्दुको मात्र होइन । हिन्दु शब्द पहिचान मात्र भएको उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...