आज पनि रवि लामिछानेको बयान हुँदै

18

पोखरा, १२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि हुने भएको छ । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति लामिछानेको बयान हिजो सुरु भएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोदेखि सुरु भएको बयान २ घन्टासम्म चलेको थियो ।

मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडिआइजी छविलाल जोशीसँग बयान सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान लिन सुरु भएको थियो । जसका कारण अदालतमा लगिए पनि उनको बयान हुन सकेको थिएन । सोही बीच उनलाई सांसद पदबाट पनि निलम्बन गरिएको छ ।

कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।

सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । सोही अभियोगमा ५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ ।

लामिछानेविरुद्ध भने सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...