बैतडी, ३० असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जिल्लाबासीको निराशा हटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले चुनावताका आफ्नो घोषणापत्रमा लेखिएका कुराहरु क्रमशः कार्यान्वयन गरिरहेको भन्दै रोजगारी सिर्जना गर्नका लागि स्थानीय स्रोत साधनको उपयोग बढाउनुपर्ने बताउनुभयो ।
जिल्लाको मेलौली, पुर्चौडी, दोगडाकेदार र दशरथचन्द नगरपालिकामा आयोजित कार्यक्रहरुमा सहभागी भएका मन्त्री भण्डारीले बैतडीमा रहेका सम्भावनाहरुलाई उजागर गरी त्यसको व्यवस्थापनमा लागिरहेको बताउनुभयो ।
जिल्लास्थित विभिन्न खानी, खनिज, जडीबुटी प्रशोधन तथा व्यवस्थापनमा ध्यान केन्द्रित गरेको पनि उहाँको भनाइ छ ।
उहाँले फस्फोराइड खानी, फलाम खानी, सिलेट खानी आदिलाई व्यवस्थित गरी बैतडीको सिलेट राजधानी पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै सबै सरोकारवाला मिलेर यसलाई सहज बनाउनुपर्ने बताउनुभयो ।
मन्त्री भण्डारीले आफ्नो आँखा अगाडिको रोजगारी चिन्न नसक्नु र त्यसको उपयोग गर्न नसक्नु स्वयंको कमजोरी हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो सिरानीबाट चिहानसम्म पानी बगेको छ । तर सिंचाइको अभावमा खेत बाँझो राखेका छौँ । ठाउँठाउँमा सडक पुगेपनि व्यवस्थीत नभएकाले हाम्रा उत्पादनले बजार पाउन मुस्किल छ । सडक सुविधा भएका ठाउँमा समेत कृषि उपजहरु उत्पादन गरी बिक्री गर्ने परिपाटी छैन, जहाँ जे सम्भावना छ त्यसको उपयोग आफैँले गर्नुपर्छ र सरकारी स्तरबाट आवश्यक योजनाको माग गर्नुपर्छ । सडक, सिंचाइ, विद्युत्, खानेपानी लगायतका पूर्वाधारहरु निर्माण गर्न सरकार लागिपरेको छ ।’
मन्त्री भण्डारीले अल्लोको लोक्ता प्रशोधन स्थानीय स्तरमै गर्नुपर्ने र त्यसको पूर्वाधार खडा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसका साथै जडिबुटी संकलन, प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ गर्ने र लघु उद्यममार्फत् रोजगारी सिर्जना गर्ने बताउनुभयो ।
स्थानीयस्तरमा उपलब्ध स्रोत साधनलाई उपयोग गरी रोजगारी सिर्जना गर्नमा आफूले ध्यान केन्द्रित गरेको मन्त्री भण्डारीको भनाइ छ ।
मन्त्री भण्डारीले हरेक पटक ओरालो लागेको अर्थतन्त्रलाई नेकपा (एमाले) नेतृत्वको सरकारले लयमा फर्काउने गरेकाले वर्तमान समयको आर्थिक संकुचन हटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सांसद समेत रहनुभएका मन्त्री भण्डारीले बैतडीलाई शीरमा राखेर काम गर्ने बताउनुभयो ।