काठमाडौँ, १३ असोज । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरूङले महिला र पुरुषकाबीच अहिलेको समानता कायम हुन नसकेको बताउनुभएको छ ।
आइतबार महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले संविधानले पनि महिला पुरुष बराबर हुन भनेर भनिरहँदा व्यवहारमा लागु हुन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘महिला विभेदसम्बन्धी समस्या, महिला हिंसासम्बन्धी समस्याको बारेमा मूलतः सबै राजनीतिक दलहरुको बीचमा सहमति देखिन्छ । संविधानले पनि महिला विभेदका क्रियाकलापहरुलाई मनन गर्नुपर्छ र स्वीकार गर्नुपर्छ भनेर संवैधानिक व्यवस्था साथै कानुनी व्यवस्थाको पनि सुरुवात गरेको छ । अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरुमा पनि महिला विभेदलाई अन्त्य गर्नुपर्छ भनेर प्रतिबद्धताहरु जाहेर गरेको देखिन्छ । तर, अहिलेसम्म महिलासम्बन्धी विभेदहरु अपेक्षित रुपमा समाधान हुन सकेका छैनन् । जति महिला र पुरुषकाबीचमा समानता पैदा हुनुपर्ने हो त्यो अझै हुन सकेको छैन । व्यवहारमा रुपान्तरण हुन सकेको छैन ।’
साथै उहाँले महिला विभेद अन्त्य गर्नकै लागि खडा भएका समस्याहरुलाई खोजेर समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले महिला विभेदका थुप्रै रुपहरुमध्ये महिला हिंसा सबैभन्दा बढी भइरहेको बताउनुभयो ।