मन्त्री भण्डारीको सक्रियताले बजार मूल्य घटेको दाबी

18

काठमाडौँ, १० असोज । पछिल्लो समय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आपूर्ति क्षेत्रमा चालेका कदमको कारण दैनिक उपभोग्य सामग्रीहरुको बजार मूल्य घटेको दाबी गर्नुभएको छ ।

नीतिगत रुपमा बजार हस्तक्षेप, नियमित अनुगमन तथा सुपथ मूल्यका पसलहरु सञ्चालन गरेपछि बजार मूल्य घट्नुका साथै कालोबजारी नियन्त्रणमा आएको उहाँको दाबी छ ।

अहिले बजारमा चिनीमा प्रतिकेजी १५ रुपैयाँ र खाने तेलमा प्रतिलिटर १० रुपैयाँ घटेको, यसका साथै नुन, दाल, पिठो, मैदाको पनि मूल्य घटेको मन्त्रीको सचिवालयले जनाएको छ । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा सञ्चालित सुपथ मूल्यका पसलहरुबाट सस्तोमा गुणस्तरीय उपभोग्य बस्तुहरु उपलब्ध भइरहेका दाबी गरिएको छ ।

चाडपर्वको समयमा उपभोग्य वस्तुहरुको मूल्य घटेपछि उपभोक्तालाई सहज भएको र खाद्य तथा साल्टले सञ्चालन गरेका पसलहरुमा उपभोग्य सामग्रीको पर्याप्तता रहेको बताइएको छ ।

मन्त्री भण्डारीको निर्देशनमा तीव्र रुपमा बजार अनुगमन भइरहेको सचिवालयले जनाएको छ । ७ असोजमा ३५ रुपैयाँ पर्ने बोतलको पानी एकसय रुपैयाँमा बिक्री गरेको पाइएपछि काठमाडौँस्थित जिम्बु रेष्टुरेण्टलाई कारबाही गरी तीन लाख रुपैयाँ जरिवाना अशुल गरिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपीभन्दा बढी मूल्यमा सामान बिक्री भएको पाइएमा तुरुन्त खबर गर्न सूचना जारी गरेको छ ।

मन्त्री भण्डारीले एक सय दिनका लागि तयार गरेको कार्य योजनामा ४ हजार ३ सय बढी पटक बजार अनुगमन गर्ने, अनुगमन पूर्वसूचना बाहिरिने प्रवृत्ति हटाउने लगायतका कुराहरु उल्लेख गर्नुभएको छ ।

नियमित रुपमा भइरहेको बजार अनुगमनका कारण म्याद गुज्रिएको सामानहरु बिक्री वितरणमा कमी आएको जनाइएको छ । मन्त्री भण्डारीले राजमार्ग क्षेत्रका होटलमा गुणस्तरहीन खानेकुरा बिक्री हुने गरेकाले अनुगमन बढाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता मारमा पर्ने कुरामा सरकार गम्भीर ढंगले लाग्ने बताउनुभएको थियो । उहाँले व्यापारिक क्षेत्रको बदमासी र अनियमीतता रोक्नुपर्ने बताउनुभएको थियो । सोही अनुरुप उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले कालोबजारीका कारण उपभोक्ता मारमा पर्ने स्थिति हटाउन नीगितग सुधार गर्दै आएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...