काठमाडौँ, ८ असोज । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले १० वर्ष अकारण मुलुक द्वन्द्वमा धकेलिएको बताउनुभएको छ ।
मंगलबार राष्ट्रिय युवा संघ नेपाल साइबर सर्कल विभागद्वारा आयोजित ‘डिजिटल मिडिया साक्षरता र कार्यशाला’ कार्यक्रममा उहाँले १० वर्षको द्वन्द्वका कारण देशको मूल्यवान समय खेर गएको भन्दै विकास गर्ने पैसा गोला बारुदमा खर्च गरेपछि सबै कुराहरु पछि धकेलिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘१० वर्ष अकारण मुलुक द्वन्द्वमा धकालियो । कारण केही पनि थिएन । बहुदल आएको पाँच वर्षभित्र त्यसको विरुद्धमा हतियार उठाउनुपर्ने कुनै जरुरत नै थिएन । इतिहासमा एउटा ठुलो प्रश्न छ त्यो १० वर्ष देशको मूल्यवान समय खेर नै गयो । विकास, समृद्धि सबै कुरा गए, विकास गर्ने पैसा गोला बारुदमा खर्च गरेपछि सबै कुराहरु पछि धकेलियो । अर्को १० वर्ष त्यो परिपूर्ति गर्न लाग्यो । एउटा राजनीतिक मुद्दा त्यसले सिर्जना गरेका अवस्थाहरु र त्यसको व्यवस्थापनका लागि २० वर्ष खर्च गर्नपर्यो ।’
यसको साथै उहाँले प्रायोजित तरिकाले गणतन्त्र मन नपराउनेहरुले देश बन्दैन भन्ने भाष्य निर्माण गरेको भन्दै त्यसलाई चिरेर देशलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘देश बन्दैन, यहाँ बस्नु हुँदैन भनेर जुन भाष्य निर्माण भएको छ त्यसलाई चिरेर देश बन्छ भन्ने भाष्य निर्माण गर्नुपर्छ । कुनै ठाउँमा चुकेका पनि छौँ, त्यसलाई अस्वीकार गर्नुपर्ने कुनै कारण पनि छैन । हामीले कसरी समस्याको समाधान गरेर अगाडि बढ्न सक्छौँ त्यो पाटोबाट पनि हेरौँ । तर, प्रायोजित तरिकाले गणतन्त्र मन नपराउनेहरुले त्यसमा भएका कमजोरी मात्र देखाउने कुरा र प्रायोजित तरिकाले गर्न खोजिएको कामलाई बदल्छौँ ।’
यस्तै, भूकम्प, कोभिडका कारणले पनि देश पछाडि परेको भन्दै गरेका प्रयास निराशाजनक नभएको पनि उहाँको भनाइ छ ।