काठमाडौँ, ७ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठुला दलले सत्ता प्राप्तिका लागि संविधान संशोधनको कथा बनाएको बताउनुभएको छ ।
सोमबार काठमाडौँमा आयोजित संविधान कार्यान्वयन ,अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले संविधान संशोधनको कुरालाई ख्याल गर्दा सरकारको एजेण्डा संविधान संशोधनको नभएर माओवादीको सरकारलाई हटाएर सत्ता प्राप्ति गर्ने रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘संविधान संशोधनको कुरालाई ख्याल गर्दा, चर्चा परिचर्चा गर्दा शान्ति सम्झौताको बारेमा पनि विचार गर्नुपर्ने हुन्छ । मेरो विमति कहाँ छ भने, अहिले दुई ठुला दलहरुले त्यसको मर्मअनुसार अगाडि बढ्नुभएको छैन । २–४ दिनसम्म उहाँहरुको एजेण्डा संविधान संशोधन थिएन । उहाँहरुलाई चाहिएको सरकार थियो । माओवादीको सरकारलाई जसरी पनि हटाउनैपर्ने भयो भनेर संविधानको संशोधनको कथा बनाउनुभयो ।’
उहाँले प्रधानमन्त्री भएर पनि काम गर्न के ले रोक्यो भनेर प्रश्न आउने गरेको भन्दै प्रधानमन्त्री भएर मात्र मन लागेको सबै गर्न नमिल्ने र यो भन्दा बढी गर्नुपरेको भए १८ महिना होइन १८ दिनमा नै सरकार छोड्नुपर्थ्यो भन्दै उत्तर दिनुभयो ।
राजनीतिक दलका शक्तिशालि नेताहरुले नै समानुपातिकता या संघीयता मन नपारउने भन्दै कसरी कार्यान्वयन गराउने भन्ने विषय ठुलो चुनौती रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘संविधान र संघियता जसरी पनि कार्यान्वयन गर्ने या समावेशी समानुपातिकलाई कार्यान्वयन गर्नेतिर होइन यसलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने योजना छ । प्रधानमन्त्री भएर पनि के ले रोक्यो भनेर प्रश्न पनि आयो, प्रधानमन्त्री भएर मात्र मन लागेको सबै गर्न मिल्ने भए धेरै गरिन्थ्यो । अलिअलि गर्दा त सुख पाइएन । यो भन्दा बढी गर्नुपरेको भए १८ महिना होइन १८ दिनमा नै सरकार छोड्नुपर्थ्यो । राजनीतिक दलका शक्तिशालि नेताहरु नै समानुपातिकता या संघीयता मन पराउनुहुन्न । त्यसैले यसलाई कसरी कार्यान्वयन गराउने यो ठुलो चुनौती छ ।’
उहाँले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफूलाई प्रशंसा गरेको कि आलोचना गरेको भन्ने कुरामा नै आफू अन्यौलमा रहेको बताउनुभयो ।
१५ वर्ष मिश्रले देशको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको भन्दै संविधान नै प्रचण्डको भएको टिप्पणी गर्नुभएको थियो ।
त्यसकै उत्तरमा प्रचण्डले भन्नुभयो, ‘उहाँलाई मैले यहाँ पस्दैगर्दा तपाईंले प्रशंसा गर्नुभएको कि आलोचना गर्नुभएको बुझ्नै सकिएन भनेको थिएँ । उहाँले अस्ति मैले झट्ट देखेको थिएँ । उहाँले दरबार मार्गको नाम पनि कांग्रेस, एमालेले प्रचण्ड मार्ग राखे हुन्छ भन्नुभयो । यो कांग्रेस, एमाले र प्रचण्डको बीचमा लडाइँ पार्न खोजेको हो कि मलाई त्यो महसुस भयो । त्यो विचार राख्ने मान्छेले प्रचण्डलाई महत्त्व पक्कै दिनुभएको होइन । उहाँले राजनीति गर्नुभएको हो । त्यो स्वतन्त्रता तपाईंलाई छ ।’