काठमाडौँ, ३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले स्थानीय तह र प्रदेश सरकारले संविधानको मर्मअनुसार काम गर्न नसकेको बताउनुभएको छ ।
बिहीबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले पालिकाहरुलाई एकीकृत गरेर पाँच सयभन्दा कम स्थानीय तह बनाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बलियो र स्वच्छ सुदृढ संघीय सरकार होस्, स्थानिय पालिकाहरुलाई ७५३ वटा चाहिँदैन, ५०० भन्दा मुनिमै जाउँ, अहिले धेरै पालिकाहरु मर्ज भएर शिक्षाको दृश्टिकोणबाट पनि उपयुक्त हुने गरेर अगाडि बढ्न सकिन्छ । हामी मर्मअनुसार काम गर्न सकिरहेका छैनौँ । ’
साथै उहाँले प्रदेश तहमा भने समन्वयकारी र छरितो निकाय बनाउनुपर्ने बताउनुभयो । उहाँले मुलुक संघीयताको अभ्यासमा गएको भएपनि अझैपनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा अन्यौलता सिर्जना भइरहेको बताउनुभयो ।