काठमाडौँ, ३ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले नेपालको संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
हामीले अंगालेको शासकीय स्वरुपले सिर्जना गरेको राजनीतिक अस्थिरता र त्यसले जनतामा छाएको निराशाप्रति राज्य संवेदनशील हुनुपर्ने बताउँदै बस्नेतले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनेगरी संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै, नेपालमा गरिएको संघीय संरचनाको अभ्यासलाई विकृत अभ्यास भन्दै स्थानीय तहलाई प्रदेशको मातहत रहनेगरी दुई तहको अधिकार सम्पन्न संघीय संरचना बनाउन र निर्वाचन प्रणालीमा सुधार गर्न पनि संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।
बस्नेतले संविधान संशोधन गरेर मुलुकलाई अग्रगतीमा डोहोर्याउन, बहिष्करणमा परेका र पारिएका वर्ग र समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्तिमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सहिद तथा घाइतेहरुप्रति उच्च सम्मान प्रकट गर्नुभयो ।
जसपा नेपालले संविधान संशोधनको आवश्यकताबारे जनचेतनामुलक र दबाबमूलक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।