राष्ट्रिय भेलामार्फत् सांगठनिक कार्य दिशालाई आवश्यक परिमार्जन गर्छौँ : रवि लामिछाने

12

काठमाडौँ, २ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय भेलाले शान्तिपूर्ण, बलियो र जनपक्षीय विकास गर्न पार्टीलाई दिशानिर्देश गर्ने बताउनुभएको छ ।

बुधबार राष्ट्रिय भेलाको दोस्रो दिन आफ्नो राजनीतिक प्रतिवेदन सार्वजनिक गर्दै उहाँले करिब दुई वर्षे यात्राको गहन समीक्षासहित राजनीतिक र सांगठनिक कार्य दिशालाई आवश्यक परिमार्जन गर्ने उद्देश्यका साथ राष्ट्रिय भेला आयोजना गरेको बताउनुभयो ।

सोही अवसरमा उहाँले पार्टीलाई आजको अवस्थामा पुर्‍याएका सबैलाई धन्यवाद पनि दिनुभयो । उहाँले भन्नुभयो, ‘करिब दुई वर्षे यात्राको गहन समीक्षासहित राजनीतिक र सांगठनिक कार्य दिशालाई आवश्यक परिमार्जन र परिष्कृत गर्ने उद्देश्यका साथ यो राष्ट्रिय भेलामा उपस्थित भएका छौँ । रास्वपामार्फत् नेपाली राजनीतिक इतिहासमा पहिला कहिले नभएको सचेत शान्तिपूर्ण र परिवर्तनलाई बलियो र जनपक्षीय बनाउन तथा पार्टीलाई जनस्तरमा थप विस्तार सुदृढ बनाउन यो भेलाले स्पष्ट दिशानिर्देश गर्नु पर्ने भएकाले बिना पूर्वाग्रह छलफल गर्न आग्रह गर्दछु ।’

यसको साथै, उहाँले रास्वपाको संसदीय उपस्थिति राजनीतिक अभ्यासको फरक पृष्ठभूमिमा स्थापित निलो क्रान्ति भएको भन्दै पुराना राजनीतिक दलहरुप्रतिको वितृष्णाका कारण सम्भव भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो संसदीय उपस्थिति राजनीतिक अभ्यासको फरक पृष्ठभूमिमा स्थापित निलो क्रान्ति थियो । केही हदसम्म पुराना राजनीतिक दलहरुप्रतिको वितृष्णा र धेरै हदसम्म नयाँ दलप्रतिको आकर्षणका कारण सम्भव भएको थियो । व्यवस्था होइन, अवस्था परिवर्तनको नारा एवम् सुशासनको पक्ष र भ्रष्टाचार विरुद्धको हाम्रो एजेण्डालाई मतदाताले अनुमोदन गरेका थिए ।’

Share This:
सम्बन्धित खबर
Loading...